
Rgp
Msbus
Ggp
Ggp
Lnp
Ksbus
Ksbus
Asbus
Sdc


दाङ । लमही नगरपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपिभि) खोप अभियान माघ २५ गतेदेखि सुरु भएको छ ।
माघ २८ गतेसम्म सञ्चालन हुने यो कार्यक्रममा नगरपालिकाका विभिन्न विद्यालयहरूलाई खोप केन्द्र बनाएर किशोरीहरूलाई निःशुल्क खोप सेवा प्रदान गरिँदैछ ।
अघिल्लो वर्ष एचपिभि खोप नलगाएका कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरू तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई लक्षित गरी स्वास्थ्यकर्मीको टोली विद्यालयमै पुगेर खोप लगाइरहेको छ । साथै विद्यालय नजाने किशोरीहरूलाई पनि नजिकका खोप केन्द्रमा पुगेर सेवा लिन नगरपालिकाले अनुरोध गरेको छ ।
नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले पाठेघरको मुखको क्यान्सर महिलाहरूमा देखिने गम्भीर स्वास्थ्य समस्या भएकाले यसको रोकथामका लागि एचपिभि खोप अत्यन्त प्रभावकारी रहेको बताइन् । उनले लक्षित समूहका सबै किशोरीहरूले अनिवार्य रुपमा खोप सेवा लिन आग्रह गर्दै अभिभावकहरुलाई पनि सचेत र सहयोगी बन्न अनुरोध गरिन् ।
स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद शर्माले एचपिभि खोपले भविष्यमा हुने पाठेघरको क्यान्सरको जोखिम उल्लेखनीय रूपमा घटाउने भएकाले यो कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरिएको जानकारी दिए । उनका अनुसार यस अभियान अन्तर्गत कूल ६ सय १९ छात्रा तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका १० जना गरी जम्मा ६ सय २९ किशोरीलाई खोप प्रदान गरिने छ ।
गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीका प्राचार्य लोकमान रिजालले विद्यालयमै खोप सेवा उपलब्ध हुँदा विद्यार्थी तथा अभिभावकलाई सहज भएको बताए । उनले स्वास्थ्य सचेतनाका यस्ता कार्यक्रमले विद्यार्थीहरुमा रोग प्रतिरोधात्मक क्षमता मात्र नभई स्वास्थ्यप्रतिको सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने उल्लेख गरे।
यस कार्यक्रम अन्तर्गत लमही नगरपालिका–१ स्थित सूर्य विनायक माध्यमिक विद्यालय नर्ती, हिमाल आधारभूत विद्यालय सोनपुर, माध्यमिक विद्यालय फल्कापुर,आधारभूत विद्यालय वनगाउँ, लिटिल स्टार स्कुल घुम्ना,जइन्द्र बोर्डिङ स्कुल, ज्योतिष्मती विद्यापीठ,खिम बहादुर शाह माध्यमिक विद्यालय कोलही,नगर स्वास्थ्य केन्द्र कोलही,गोरखा बोर्डिङ स्कुल लमही,आदर्श माध्यमिक विद्यालय देउपुर,अर्जुन माध्यमिक विद्यालय हसनापुर,राप्ती माध्यमिक विद्यालय उचानिम्बु, आधारभूत विद्यालय भत्तरकुण्डा, आधारभूत विद्यालय असानी,सतवरिया स्वास्थ्य चौकी, बगारवावा माध्यमिक विद्यालय रिहार तथा माध्यमिक विद्यालय अमिलियालाई खोप केन्द्र तोकिएको छ ।
लमही नगरपालिकाले लक्षित समूहका सबै किशोरीहरूलाई अवसर नछुटाई खोप सेवा लिन आग्रह गरेको छ ।
