
Lnp
Dbs
ksb
Rgp
Ggp
lnp
Rgp
Rgp
Pbu
Lks
Ggp
Jns
Rgp
Sgp
Usb
Asb
Dus


दाङ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय तुलसीपुरले लमही नगरपालिकामा पनि धान खरिदको काम अगाडी बढाएको छ ।
कार्यालयले यो वर्षबाट लमहीमा धान खरिद गर्न लागेको हो । खाद्यले यो पटक लमहीबाट १ हजार ५ सय क्विन्टल मोटा धान खरिद गर्दै छ । मोटा धानको मूल्य प्रति क्विन्टल ३ हजार ४ सय ६३ रुपैयाँ ८१ पैसा रहेको छ ।
धान खरिद कार्यको सुभारम्भ गर्दै लमही नगरपालिका प्रमुख जोगराज चौधरीले किसानले अब धानको उचित मूल्य पाउने बताए । किसानले धान निकै सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएपछि उनले स्वयं तुलसीपुर खाद्य कार्यालय पुगेर सम्झौता गर्न पुगेका थिए । सम्झौतापछि अब किसानले उचित मूल्यमा धान बिक्री गर्न सहज भएको छ ।
धान भण्डारणका लागि उपयुक्त घरको खोजी क्रममा वडाका केही सरकारी भवन निरीक्षण गरिएपनि उपलब्ध नहुँदा वैकल्पिक उपाय अपनाउनु परेको प्रमुख चौधरीले बताए ।
“वडा नम्बर ३ को प्रगन्ना र वडा नम्बर ७ को सभाहलमा भण्डारण गर्न सकिने सोच थियो,तर सम्भव नभएपछि वडा नम्बर ६ मा रहेको पंचरत्न खाद्य उद्योगको खाली भवन प्रयोगमा ल्याएर काम अघि बढाइएको छ,” प्रमुख चौधरीले भने । साथै उनले केही व्यक्तिहरुले सकारात्मक सोचभन्दा नकारात्मक टिप्पणी बढी गर्ने गरेको भन्दै उनले भने, “यस्तो सोचले कसैलाई फाइदा पुग्दैन,सहयोग र समाधानमा जोड दिनुपर्छ ।”
लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले किसानलाई मल–बिउको कमी,न्यून मूल्य र विभिन्न कठिनाइहरुले निरन्तर पीडित बनाइरहेको भन्दै राज्यले साना समस्यामा समेत ध्यान दिए मात्र किसानलाई राहत मिल्ने धारणा व्यक्त गरिन् ।
“मल–बिउ नपाउँदा किसानको पीडाको वास्तविक अनुभूति किसानले मात्रै गर्न सक्छ । राज्यले समयमै चासो दिए किसानलाई ठूलो राहत मिल्छ,” उपप्रमुख योगीले भनिन् । हाल सस्तो मूल्यमै धान बिक्री गर्दै आएका किसानका लागि अब उचित मूल्य सुनिश्चित हुने जानकारी दिँदै उपप्रमुख योगीले सबै किसानलाई लमही नगरपालिकाको कृषि शाखामा सम्पर्क गर्न आग्रह गरेकि छिन् ।
त्यस्तै उनका अनुसार कृषि उत्पादनलाई सुरक्षित राख्ने,बजार व्यवस्थापन गर्ने र किसानलाई आर्थिक रुपमा सबल बनाउनेतर्फ नगरपालिका सक्रिय रुपमा काम गरिरहेको छ ।
आइतबार विधिवत रुपमा सुरुवात गरिएको धान खरिद बिक्रि कार्यक्रममा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय तुलसीपुरका अधिकारीहरु,वडा नम्बर ६ का वडा अध्यक्ष श्याम नारायण चौधरी लगायतको उपस्थिति रहेको थियो ।
लमही नगरपालिका–६ खैरीमा अवस्थित पञ्च रत्न खाद्य उद्योगको खाली भवनमा धान भण्डारण गर्ने तयारी भएको छ । केही वर्षअघि सञ्चालनमा आएको यो उद्योग करिब ५ महिनादेखि बन्द अवस्थामा थियो ।
उद्योग सञ्चालनका लागि लमहीका पाँच जना स्थानीय बसन्तराज अधिकारी,नारायण भुसाल, गृहराज चौधरी, इन्द्रमणी अधिकारी र चिरन्जीवी रेग्मीले संयुक्त रुपमा लगानी गरेका थिए । तर, व्यावसायिक तथा व्यक्तिगत व्यस्तताका कारण उद्योग निरन्तरता नपाएपछि बन्द गर्नु परेको उद्योग सञ्चालकमध्येका एक बसन्तराज अधिकारीले जानकारी दिए ।
“त्यो समयमा हाम्रो उद्योग पश्चिम नेपालमै ठूलो चाउमिन उत्पादन गर्ने कम्पनीको नामले परिचित थियो,” अधिकारीले भने, “तर सबै जना आफ्ना–आफ्ना काममा व्यस्त भएपछि उद्योग सञ्चालन गर्न सकिएन ।” बन्द उद्योगको खाली घर अहिले धान भण्डारणका लागि प्रयोग गरिने भएको छ । यसले गोदाम अभावको समस्या समाधानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
