
Ksb
Usb
Nsb
Csb
Ssb
Ksb
Ssb
Rsb
Bsn
Ppu
Tgp
Rks
Ksb
Gsb

Usb
Gsb
Ssb
Hl1
Tsb

Rgu
Nps
ptl
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर –९,मा अवस्थित ऐतिहासिक जोरपोखरी गढीमा शुक्रबार एक कार्यक्रमका बीच शिलालेख अनावरण गरिएको छ ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र ज्वालादल गण घाेराहीका गणपति कर्नेल सन्तोष थापाले संयुक्त रुपमा गढीको इतिहास उल्लेख गरिएको शिलालेख अनावरण गरेका हुन् ।
प्राचीन समयमा “काला राजाले” निर्माण गरेको मानिने उक्त गढीको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले शिलालेख स्थापना गरिएको हो । जोरपोखरी गढी ऐतिहासिक शिलालेख अनावरण कार्यक्रमले यस क्षेत्रको सांस्कृतिक र ऐतिहासिक महत्वलाई थप उजागर गरेको छ।
त्यस्तै शिला अनावरण कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गढीलाई स्थानीय सरकारले संरक्षण र संवर्द्धन गर्दै ऐतिहासिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने बताए । यो गढी पालिकाको सबैभन्दा उच्च स्थानमा अवस्थित छ । “यहाँबाट उत्तरतर्फ विभिन्न हिमश्रृङ्खला हेर्न सकिने र देउखुरी उपत्यका अवलोकन गर्न सकिन्छ”,अध्यक्ष विष्टले भने ।
कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडाध्यक्ष पहलवान चौधरी,वडा नम्बर ९ का अध्यक्ष रिम बहादुर सुनारी मगर,कार्यपालिका सदस्य रणबहादुर पुजाली, नेपाली सेनाका पदाधिकारी, समाजसेवी तथा स्थानीय बासिन्दाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
किंवदन्तीका अनुसार शिलालेखमा गढी प्राचीन समयमा “काला राजा”ले निर्माण गरेको बताइन्छ। पछि “गोरा राजा” सँगको युद्धमा काला राजा र उनका छोराहरु “कालाकाटे” स्थानमा मारिएका थिए। त्यसपछि रानीसहित अन्य महिलाहरुले गढीको पश्चिमतर्फ रहेको चिउरीको रुखमा झुन्डिएर आत्महत्या गरेको जनश्रुति रहेको उल्लेख छ ।
त्यस्तै स्थानीय बासिन्दाका अनुसार करिब ५० वर्षअघिसम्म गढी अण्डाकार आकारको तीन फिट अग्लो पर्खालले घेरिएको थियो,जसको बीचभागमा चार दिशातर्फ ढोका रहेका घरका भग्नावशेष देखिन्थे । गढीको उत्तर–पूर्व दिशामा करिब ४ सय मिटर टाढा रहेको रानी कुवापनि ऐतिहासिक रुपमा यस स्थलसँग सम्बन्धित मानिन्छ।
नेपाली सेनाले देशभर रहेका ऐतिहासिक गढी र किल्लाहरुको पहिचान,संरक्षण र जगेर्ना गर्ने नीतिअनुसार यस्ता कार्यक्रमहरु नियमित रुपमा सञ्चालन गर्दै आएको छ ।
