
Dus
lnp
Rgp
Usb
Ggp
Ggp
Rgp
Asb
Sgp
Lnp
Jns
Rgp
Rgp
Dbs
Lks
Pbu
ksb


दाङ । देउखुरीको राप्ती गाउँपालिकामा सरसफाइ रनिङ्ग शिल्ड कार्यक्रमलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सम्बन्धित सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ।
गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरुले फोहोर व्यवस्थापनलाई दीगो बनाउन फोहोरलाई स्रोतमै वर्गीकरण गर्नुपर्नेमा जोड दिएका थिए ।
साे अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष विष्टले सफा,स्वस्थ र सुन्दर गाउँपालिका निर्माण सबैको साझा जिम्मेवारी भएको उल्लेख गरे । त्यस्तै उनले सरसफाइलाई बानी र संस्कारका रुपमा आत्मसात गर्न आवश्यक रहेको बताए । उनले सरसफाइ कार्यमा टोल विकास संस्थाको भूमिका महत्वपूर्ण रहेको पनि उल्लेख गरे ।
त्यस्तै,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले स्थानीय तह,समुदाय,संघ– संस्था र नागरिकहरुको सहकार्य बिना दीगो सरसफाइ सम्भव नहुने भन्दै सरोकारवालाबीच निरन्तर समन्वय आवश्यक रहेको बताए ।
लुम्बिनी प्रदेश खानेपानी महासंघका उपाध्यक्ष हस्तबहादुर गुरुङले खानेपानी र सरसफाइ एक–अर्काका पूरक भएकाले समन्वय र सहकार्य आवश्यक रहेको धारणा राखे ।
भालुबाङ होटल व्यवसायी संघका उपाध्यक्ष पुनाराम भुसालले जथाभावी फोहोर फाल्नेहरुलाई कडाइका साथ कारबाही गर्नुपर्नेमा पालिकाको ध्यानाकर्षण गराउँदै कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै दिन संकलन गर्ने व्यवस्था मिलाउन सुझाव दिए ।
यसैगरी,रेडक्रस उपशाखा लालमटियाका सभापति उत्तम अधिकारीले सरसफाइ सेवामा खटिने कर्मचारीको व्यवहार सुधार आवश्यक रहेको बताए । त्यस्तै उनले सरसफाइ शुल्क तिर्न नमान्ने व्यक्तिहरूलाई वडा कार्यालयबाट प्रदान गरिने सेवा सुविधाबाट रोक्नुपर्ने धारणा राखे ।
कार्यक्रममा विभिन्न टोल विकास संस्थाका अध्यक्षहरुले सरसफाइ शुल्क संकलनमा देखिने चुनौती,सार्वजनिक स्थानमा राखिएका डस्टबिनको नियमित व्यवस्थापन र चाडपर्वको समयमा पनि सरसफाइ सेवा निरन्तरता दिनुपर्ने विषयमा सुझाव राखेका थिए ।
कार्यक्रममा सरसफाइ शाखा प्रमुख गीता चौधरीले पालिकाले हाल सञ्चालन गरेका र आगामी दिनमा सञ्चालन गरिने सरसफाइ कार्यक्रमबारे सहभागीहरुलाई जानकारी गराएकी थिइन् ।
यस्तै, सूचना प्रविधि शाखा प्रमुख बालचन्द्र गुरुङले पालिकाले घाेषणा गरेको ‘सरसफाइ डिजिटल अवार्ड’ कार्यक्रमको कार्यविधि तथा मूल्यांकन प्रणालीबारे विस्तृत जानकारी गराएका थिए ।
पालिकाले गतवर्षदेखि विभिन्न सूचकको आधारमा मूल्यांकन गरि वार्षिक रुपमा सरसफाइ रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गर्दै आइरहेको छ।प्रतियोगितामा उत्कृष्ट वडा तथा टाेल विकास संस्थाहरुलाई उचित पुरस्कार सहित सम्मान गर्ने गरेको छ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमलापति चौधरी,वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, राजनीतिक दल र सुरक्षा निकायका प्रतिनिधि, विभिन्न संघ–संस्था प्रतिनिधि तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख विश्वास बिकले गरेका थिए ।
गाउँपालिकाले विगत दुई वर्षदेखि सरसफाइ संकलन केन्द्र स्थापना गरी प्लास्टिकजन्य फोहोरबाट इन्टरलक टायल तथा कुहिने फोहोरबाट जैविक मल उत्पादन गर्दै आइरहेको छ।
