
Pbu
Rgp
Rgp
Dbs
Sgp
Rgp
Jns
Asb
Ggp
Lnp
Usb
lnp
Dus
Ggp
ksb
Rgp
Lks


दाङ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरले देउखुरी क्षेत्रमा रहेका होटल तथा रेष्टुरेन्टहरुको स्वच्छता तथा खाद्य गुणस्तरको अनुगमन गर्दै वर्गीकरण गरेको छ।
अनुगमनको क्रममा राप्ती गाउँपालिका वडा नम्बर १, भालुबाङमा सञ्चालनमा रहेको होटल पाैवा प्रालिलाई ‘अति उत्तम’ श्रेणीमा राखिएको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार होटल तथा रेष्टुरेन्टहरुको सरसफाइ, खानाको गुणस्तर,सेवा सुविधा,भान्साको स्वच्छता, कर्मचारीको व्यवहार तथा समग्र व्यवस्थापनको अवस्थाका आधारमा अति उत्तम, उत्तम,सन्तोषजनक र सामान्य गरि चार तहमा वर्गीकरण गरिएको हो । वर्गीकरणमा राप्ती गाउँपालिका–१, भालुबाङको द नेक्स लेवल रिसोर्ट एण्ड बार, वडा नम्बर ३,मसुरियाको छानो कटेज र वडा नम्बर ८, मौरीघाटको होटल डिल्स इन तथा वडा नम्बर ८,पिपरीस्थित थारु दरबार रेष्टुरेन्ट एण्ड लजलाई सन्तोषजनक श्रेणीमा राखिएको छ । त्यस्तै वडा नम्बर ८,पिपरीकै बी.एस.आर. युनिक रेष्टुरेन्ट एण्ड लजलाई सामान्य श्रेणीमा राखिएको छ।
यस्तै डिभिजन कार्यालयका प्रमुख पदम बरालका अनुसार ९० भन्दा माथि अंक प्राप्त गर्ने व्यवसायलाई तीन तारा सहित ‘अति उत्तम’ हरियो स्टिकर,८० देखि ८९ अंक ल्याउनेलाई दुई तारा सहित‘उत्तम’ हरियो स्टिकर,६५ देखि ७९ अंक ल्याउनेलाई एक तारा सहित ‘सन्तोषजनक’ हरियो स्टिकर र ५० देखि ६४ अंक ल्याउने व्यवसायमा ‘सामान्य’ श्रेणीको पहेँलो स्टिकर टाँस गरिने व्यवस्था छ । बरालले हाेटल उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित क्षेत्र भएकाले स्वच्छता र गुणस्तरमा कुनै पनि लापरबाही स्वीकार्य नहुने बताउँदै सुधार आवश्यक देखिएका स्थानहरुलाई सचेतना तथा निर्देशन दिइएको जानकारी दिए ।
खाद्य निरीक्षक सुदर्शन गोसाईका अनुसार निरन्तर अनुगमन र व्यवसायीहरुको सक्रिय प्रयासका कारण पछिल्लो समय होटल तथा रेष्टुरेन्टहरुले मापदण्ड पालना गर्न थालेका छन् । अनुगमन टोलीमा खाद्य निरीक्षक सुदर्शन गोसाई,कृषि अधिकृत प्रदिप खत्री, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्का, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरी अधिकारी,भालुबाङ होटल व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष प्रेम खत्री,पूर्व अध्यक्ष महेश बेल्वास, पत्रकार तथा सरोकारवालाहरुकाे सहभागीता रहेको थियो ।
त्यस्तै टोलीले राप्ती गाउँपालिकाद्वारा आयोजित स्थानीय खाद्य परिकार तथा भैलो महोत्सवमा राखिएका परिकारहरुको समेत गुणस्तर मूल्यांकन गरि ब्रान्डिङ गर्न आवश्यक सल्लाह समेत दिइएको डिभिजन कार्यालयले जनाएको छ ।
