
Dus
Asb
Rgp
Usb
Jns
Lnp
ksb
Rgp
Ggp
Ggp
Lks
Sgp
Rgp
lnp
Rgp

lms

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा स्थानीय खाद्य परिकार प्रदर्शनी तथा भैलो महोत्सव कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
गाउँपालिकाको आयोजना तथा बेस संस्था तुलसीपुर दाङको सहकार्यमा आज गाउँपालिकाको कार्यालय मसुरियामा उक्त भैलो महोत्सव सम्पन्न भएको हो ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता र लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेको प्रमुख आतिथ्यता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको विशिष्ट आतिथ्यतामा भैलो महोत्सव उद्घाटन गर्दै मन्त्री न्यौपानेले स्थानीयस्तरमा विद्यमान कला र संस्कृति संरक्षणमा गाउँपालिकाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएका छन् ।
त्यस्तै उनले भैलो महोत्सव जस्ता कार्यक्रमहरूले लोपोन्मुख परम्परागत संस्कार र सांस्कृतिक मूल्यहरू जोगाउन योगदान गर्ने उल्लेख गरे । “गाउँ र समाजमा रहेका मौलिक कला तथा संस्कृति जगेर्ना गर्दै ती संस्कृतिहरूलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न आवश्यक छ,” मन्त्री न्यौपानेले भने । उनले लुम्बिनी प्रदेशको राजधानी समेत रहेको राप्ती उपत्यकामा पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै प्रदेश सरकारले पर्यटन विकासका लागि विशेष योजना अघि सारिने जानकारी दिए ।
यस्तै जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले भैलो महोत्सवजस्ता कार्यक्रमले समुदायमा रहेको सांस्कृतिक सम्पदा,सहकार्य र सामूहिक पहिचानलाई बलियो बनाउने उल्लेख गरे । उनले भने,“हामीले हाम्रो संस्कृति,भेषभूषा र परम्परा जोगाउन सकेनौं भने समयसँगै ती हराउँदै जान्छन् । भैलो केवल नाचगान होइन, यो हाम्रो जीवनशैली, सामाजिक भावना र पीढीगत संस्कृतिको निरन्तरता हो ।” उनले यस्ता सांस्कृतिक महोत्सवलाई निरन्तर रूपमा प्रवद्र्धन गर्न स्थानीय सरकारको प्रयास सराहनीय भएको पनि बताए ।
त्यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्थानीय खाद्य परिकार र परम्परागत मौलिक कला–संस्कृति संरक्षणको उद्देश्यले भैलो महोत्सवको आयोजना गरिएको बताए । उनका अनुसार यो कार्यक्रम यस वर्ष देखि सुरु गरिएको हो र आगामी वर्षहरूमा पनि निरन्तरता दिइने छ । “भैलोले समाजमा सयौंदेखि चल्दै आएको एकता र सहकार्यको भावना जोगाइराखेको छ । त्यसैले गाउँ समाजमा जे मौलिक कला छ, त्यसको जगेर्ना गर्नु सबैको जिम्मेवारी हो,” अध्यक्ष विष्टले भने । पछिल्लो समय स्थानीयस्तरमा परम्परागत कला, संस्कार र संस्कृति लोप हुँदै गएको हुँदा ती संरक्षित गर्दै पालिकाभित्रका पर्यटन क्षेत्रको विकासलाई समेत जोड दिइने उनको भनाइ थियो ।
यस्तै भैलो महोत्सवमा ९ वटा स्थानीय खाद्य परिकारका स्टलहरु र १३ वटा भैलो समूहहरुले सहभागिता जनाएका थिए । स्टलमा दुर्गा भवानी आधारभूत विद्यालय मसुरीयाका विद्यार्थीहरुले मखमली फूल र रोशिलाको चिया सँगै थारु परिकारहरु मासको खरिया,ढिक्री राखेका थिए भने बदाम,तरुल,केरा,तरकारी,बिउपल,केराको चिप्स लगायत स्थानीय रुपमा उत्पादित पोषणयुक्त परिकारहरु प्रदर्शनीमा राखिएकोे थियो ।
यसैगरी सहभागी भैलो समूहलाई प्रति समूह १० हजार रुपैयाँका दरले यातायात खर्च समेत प्रदान गरिएको थियो भने स्थानीय खाद्य परिकार प्रदर्शनीमा सहभागीहरुलाई बेस संस्थाद्वारा करिब ६५ हजार रुपैयाँ प्रोत्साहन रकम प्रदान गरिएको थियो । कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल,जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठ,राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक,वडा अध्यक्षहरु,अन्य जनप्रतिनिधि,बेस संस्थाका जिल्ला सचिव रुपलाल चौधरी,पालिकाका शाखा प्रमुखहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी,सुरक्षाकर्मी तथा संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन वरिष्ठ शिक्षा अधिकृत विश्वास विकले गरेका थिए ।

