
Usb
Tgp
Ssb
Csb
Bsn
Ksb
Gsb
Rsb
Ksb
Nsb
Ksb
Ppu
Ssb
Rks

Gsb
Ssb
Tsb
Hl1
Usb

Nps
Rgu
ptl
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राजपुर गाउँपालिका वडा नम्बर–५, गंगदीस्थित साधारण नमुना माध्यमिक विद्यालयको नव निर्मित शैक्षिक भवनको उद्घाटन गरेका छन् ।
यो भवन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अनुदान सहयोगमा निर्माण गरिएको थियो । मुख्यमन्त्री आचार्यले विद्यालयले विकट क्षेत्रमा शिक्षाको उज्यालो छर्न पुर्याएको योगदानको प्रशंसा गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र नतिजा खस्किएकोले सुधारका लागि सघन योजना निर्माण गरी कार्यान्वयन गर्न जोड दिए ।
उनले लुम्बिनी प्रदेश सरकार शैक्षिक गुणस्तर बढाउन र नतिजा सुधार गर्न प्रतिबद्ध रहेको बताए । `भवन मात्र भएर हुँदैन, गुणस्तरीय र व्यावसायिक शिक्षा बढाउन आवश्यकता छ । अभिभावक र शिक्षकबीच समन्वय गरेर शिक्षाको गुणस्तर बढाउन सकिन्छ´उनले भने-`प्रदेश सरकारले शैक्षिक क्षेत्र सुधार्न ध्यान दिएकाे छ ।´
मुख्यमन्त्री आचार्यले राजपुर गाउँपालिकाको गत वर्षको एसईई नतिजा निराशाजनक रहेको भन्दै यस वर्षको नतिजा सुधारका लागि पठनपाठनलाई चुस्त बनाउन आग्रह गरे ।`सिङ्गो पालिकाबाट एसईईमा केवल एक जना मात्र पास हुनु दुखद कुरा हो । यसलाई सुधार्नका लागि समस्याको जड पत्ता लगाएर उपचार गर्नु जरुरी छ´उनले भने-`शिक्षाकाे गुणस्तर सुधार्न अभिभावकले कडा निगरानी राख्नुपर्छ । सबै तह र तप्काबाट ध्यान दिएर शैक्षिक गुणस्तर बढाउन सकिन्छ ।´ संघीयताका कारण विकास निर्माणले गति लिएको उल्लेख गर्दै, विकट बस्तीमा सेवा-सुविधा पुर्याउन प्रदेश सरकारले विशेष ध्यान दिएको बताए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । लुम्बिनी प्रदेशका पूर्व सांसद रेवतीरमण शर्माले विद्यालयबीच शैक्षिक गुणस्तरमा प्रतिस्पर्धा हुन आवश्यक रहेको र यसका लागि सबै निकायबीच समन्वय र सहकार्य बढाउनुपर्ने धारणा राखे ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य जीवन गौतमले शैक्षिक गुणस्तरलाई प्राथमिकतामा राखेर विद्यालयलाई सुधार गर्नुपर्ने बताए । उनले विद्यार्थीसँग सीप र दक्षता अभिवृद्धि गरी अघि बढ्नुपर्ने तथा विषयगत शिक्षकको व्यवस्थापन र पाठ्यक्रम सुधार गर्नुपर्ने आवश्यकता औंल्याए ।
गाउँपालिकाकी उपाध्यक्ष धनपतीदेवी यादवले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर लगानी गरिएको र कक्षा १२ सम्म निःशुल्क शिक्षा लागू गरिएको बताइन् । राजपुर गाउँपालिकाका पूर्व अध्यक्ष लोकराज केसीले प्राविधिक धार सञ्चालन गरेर विद्यालयलाई नमुना बनाइएको उल्लेख गरे ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नागेन्द्रप्रसाद यादवले विद्यालयको शैक्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए। प्रमुख अतिथि मुख्यमन्त्री आचार्यले विद्यालयका पूर्व प्रधानाध्यापकहरूलाई सम्मान गरेका थिए। कार्यक्रमको सहजीकरण शिक्षक मानबहादुर केसी र हिमा थापाले संयुक्तरूपमा गरेका थिए ।
