
Gfs
Rgp1
sbs
Rgp
Pbu
Srbpu
Lnp
Djs
Pes
Unsku
Ggp
cjs
pku
Sgr

Gst
Hal
nsb
Rgs
Asm
Sbs
Tsm
Rsb
Pvg
Rgu
Ksm
Wsp
Ggd
Sls
Rgu
Ssm
Bbu
Vor
Bbbpu

Mks
sab
Bml
Jmb
Pls
Gsb
Rmb
Rpp
bbt
Abd
Syp
Ptm
Jmb
काठमाडौं । पछिल्लो समय बर्खा लागेसंगै डेंगु सङ्क्रमणको जोखिम बढ्न थालेको छ । एक पटक डेंगु भइसकेको मानिसलाई फेरि डेंगु हुँदा जोखिम बढ्ने चिकित्सकहरूले बताएका छन् ।
चिकित्सकका अनुसार पहिलो पटक डेंगु सङ्क्रमण हुँदा अधिकांशमा डेंगुको ‘सेरोटाइप–१’ हुन्छ । फेरि डेंगु सङ्क्रमण हुँदा अधिकांशमा ‘सेरोटाइप–२’, ‘सेरोटाइप–३’ वा ‘सेरोटाइप–४’ हुने सम्भावना रहन्छ । डेंगुको ‘सेरोटाइप–१’ भइसकेका व्यक्तिको शरीरले रोगप्रतिरोध क्षमता विकास गरिसकेका कारण यसो हुने गरेको विज्ञहरू बताउँछन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार यो वर्ष डेंगुको ‘सेरोटाइप–१’ कम देखिने सम्भावना छ । प्रायः सबैलाई एक पटक डेंगु सङ्क्रमण भइसकेको हुनाले यो वर्ष ‘सेरोटाइप–१’ कम देखिने सम्भावना देखिएको उनको भनाइ छ । ‘एक पटक डेंगु सङ्क्रमण भइसकेपछि एन्टिबडी बन्छ, ‘त्यही भएर पुनः डेंगु सङ्क्रमण भएमा सेरोटाइप–१ हुँदैन, सेरोटाइप २ वा ३ हुन सक्छ ।’ बुढाथोकीका अनुसार दोस्रो पटक डेंगु हुँदा एकदमै टाउको दुख्ने हुन्छ । जसलाई सामान्य भाषामा कडा किसिमको डेंगु भन्न सकिन्छ ।
त्यस्तै सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार डेंगुको सेरोटाइप–१, २, ३ र ४ एक पटक सङ्क्रमण भइसकेमा फेरि नदोहोरिने सुनाए । ‘सबैभन्दा बढी घातक यो सेरोटाइप हो भन्न सकिँदैन,’ उनले भने, ‘तर यो वर्ष कसैलाई सेरोटाइप १ भयो भने अर्को पटक सेरोटाइप १ बाहेक २, ३ वा ४ देखिने हुन सक्छ, जसले जटिलता निम्त्याउन सक्छ ।’ डा. पुनका अनुसार गत वर्ष अधिकांशलाई डेंगुको ‘सेरोटाइप–४’ देखिएको थियो । यो वर्ष ‘सेरोटाइप–४’ बाहेकको सङ्क्रमण देखिन सक्छ ।
‘रियल टाइम’ डेंगु ‘सेरोटाइप’ पहिचानको आवश्यकता
नेपालमा पहिल्लो समय डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । डेंगुले महामारीको रूप लिनु अगावै पहिचान गर्नुपर्ने विज्ञ बताउँछन् । यसले सही समयमा योजना बनाउन सहयोग पुग्ने डा.पुनको भनाइ छ । ‘हालसम्म डेंगु सङ्क्रमित सङ्ख्यामात्रै पहिचान भएको छ,’ उनले भने, ‘सेम्पलिङ गरेर तत्कालै कस्तो खालको डेंगु देखिएको छ भन्ने पत्ता लगाउनु पर्छ । रियल टाइम सेरोटाइपको पहिचान गर्न आवश्यक छ । यसले भविष्यमा देखिने डेंगु जटिलतालाई न्यूनीकरण गर्न सहयोग पुग्छ ।’
त्यस्तै हाल सरकारले डेंगु ‘पोजेटिभ’ वा ‘नेगेटिभ’ भनेरमात्रै जाँच गर्दै आएको छ । डेंगुको पहिचान गर्न सकेमा सो अनुसार योजना बनाउन सकिने पुनको भनाइ छ । डा. पुनले उदाहरण दिँदै भने, ‘जस्तो कि काठमाडौँमा कुन किसिमको डेंगु देखिएको छ, त्यसलाई आधार मानेर पछि कस्तो खालको प्रकोप देखिन सक्छ, त्यही अनुसार अस्पतालको शय्या तयारी गर्नुपर्यो, स्वास्थ्यकर्मी तयार पार्नु पर्यो ।’
बढ्दैछ डेंगु
बर्खा लागेसँगै नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । ‘एडिस एजिप्टाइ’ जातको लामखुट्टेले सङ्क्रमित व्यक्तिलाई टोकेर अर्को व्यक्तिलाई सार्ने गर्छ । यो लामखुट्टेले सफा पानीमा अण्डा पार्ने भएकाले बर्खाको मौसममा यसको सङ्ख्या बढेर डेंगु रोगको जोखिम झनै बढ्ने हुन्छ । बर्खा लागेसँगै डेंगुको जोखिम अझै बढ्ने विज्ञहरूको भनाइ छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७७ जिल्लामध्ये ७२ जिल्लामा डेंगु सङ्क्रमण देखिएको छ । ईडीसीडीको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२४ को जनवरी महिनादेखि जुन २३ गतेसम्म देशभरका एक हजार २६८ जनामा डेंगु पुष्टि भएको छ ।
डेंगु नियन्त्रणमा सरकारको तयारी
स्वास्थ्य मन्त्रालयले डेंगुको निदान गर्न, उपचार गर्न जनशक्ति तयारी गरिसकेको छ । डा. बुढाथोकीले आवश्यक औषधि र जनशक्ति तयारी अवस्थामा रहेको बताए । ‘अनुमान गरिएको भन्दा बढी बिरामी आए भने अस्पतालले थाम्न नसक्ने हो कि !’ उनले भने, ‘त्यसकारणले गर्दा रोकथामका लागि जनता, पालिका, सरकार र सङ्घसंस्थाहरू पनि लाग्नुपर्छ ।’
यस्तै उनका अनुसार पालिकास्तरमा द्रूत प्रतिकार्य टोली समिति बनाइएको छ । ‘स्थानीयस्तरमा मोबिलाइज गर्न तयारी अवस्थामा रहन पनि भनेका छौँ,’ उनले भने, ‘उहाँहरूलाई ओरेन्टेशन पनि दिइयो, जिल्ला अस्पताल, आधारभूत अस्पताललाई डेंगुको निदान र उपचारका लागि तालिम र ओरेन्टशन दिइसकेका छौँ ।’ उनका अनुसार लगभग देशभर १२ देखि १३ स्थानमा औषधि भण्डारण गरिएको छ । ‘किट, औषधिहरू तयारी अवस्थामा छन्,’ उनले भने, ‘मेसिन लगायत पनि तयारी अवस्थामै राखेका छौँ ।’
डेंगु नियन्त्रणमा आम नागरिकको जिम्मेवारी
सरकारी निकायले मात्रै डेंगुलाई न्यूनीकरण गर्न सम्भव नहुने भएकाले आमनागरिकलाई पनि विज्ञहरूले यसको रोकथाम र नियन्त्रणमा केही सुझाव दिएका छन् ।
–घरको वरिपरि पानी जम्न नदिने,
–पूरै शरीर ढाक्ने कपडा लगाउने,
–घरमा बस्दा अनिवार्य झुलभित्र बस्ने,
–लामखुट्टे भगाउने क्रिम प्रयोग गर्ने,
–झ्याल ढोका बन्द राख्ने,
–आफ्नो वरिपरिको वातावरण सरसफाइ गर्ने ।
डेंगुका लक्षण
–ज्वरो आउने,
–टाउको दुख्ने,
–आँखाको भित्री भाग दुख्ने,
–बान्ता आउने,
–रिङ्गटा लाग्ने,
–जिउ दुख्ने,
–गलेको महसुस हुने,
–साताभरमा शरीरमा राता बिमिरा आउने ।
डेंगुबाट मृत्यु हुनेको संख्या शून्यमा झार्ने सरकारी लक्ष्य
डेंगुबाट मृत्यु हुनेको संख्या शून्यमा झार्ने सरकारी लक्ष्य छ । २०२२ मा डेंगुबाट ८८ जनाको मृत्यु भएको थियो । यस्तै गत वर्ष २० जनाको मृत्यु भएको थियो । सन् २०१९ मा देशभर १७ हजार ९९२ जनामा डेंगु पुष्टि भएको थियो । सन् २०२० र २०२१ मा डेंगु हुने बिरामीको सङ्ख्या ह्वात्तै घटेको देखिन्छ । सन् २०२० मा ५३० जनामा डेंगु पुष्टि भएको थियो भने २०२१ मा ५४० जनामा देखिएको सरकारी तथ्याङ्क छ ।
त्यस्तै सन् २०२० र २०२१ मा कोरोना महामारीका कारण मानिसको चहलपहल कम हुँदा डेंगु सङ्क्रमण धेरै फैलिन नपाएको विज्ञहरूको भनाइ छ । तर सन् २०२२ मा डेंगुका बिरामी अचानक बढेको तथ्याङ्कले देखाउँछ । सन् २०२२ मा देशभर ५४ हजार ७८४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको थियो भने ८८ जनाको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख छ । सन्, २०२३ मा पनि डेंगुबाट सङ्क्रमण हुनेको संख्या बढी नै छ । यो वर्ष ५१ हजार २४३ जनामा डेंगु देखिएको थियो भने २० जनाको मृत्यु भएको थियो ।
