दाङ । युथ्स अफ तुलसीपुरले आजदेखि लगाउने भनिएको महोत्सव हाललाई स्थगित भएको छ । तुलसीपुर उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्शले विरोध गरेपछि तत्काललाई महोत्सव नलाग्ने भएको हो । उद्योग वाणिज्य संघ र आयोजकबिच ४ बुंदे समहतिमा महोत्सव हाललाई स्थगित गरिएको हो ।
यदि आयोजकले पुनः मेला महोत्सव संचालन गर्न चाहेमा मेला महोत्सवमा राख्नुपर्ने व्यापारिक सरसामानहरुको लिस्ट उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्शले तोके बमोजिम हुने र उक्त लिस्टको विवरण ५ दिन भित्र तुलसीपुर उपमहानगरपालिकामा उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्शले पेश गर्नु पर्ने गरी उद्योग वाणिज्य संघ र मेला आयोजक बिच सहमति भएको छ ।
आउदाँ दिनहरुमा उद्योग वाणिज्य,व्यापार व्यवसायसंग सम्बन्धित मेला महोत्सवहरु संचालन गर्न तुलसीपुर उपमहानगरपालिकाबाट कार्यविधि बनाएर लागु गर्नु पर्ने र कार्यविधि स्वीकृत गरेर लागु नभएसम्म कुनै पनि व्यक्ति, संघ संस्था आदिबाट कुनै पनि किसिमका व्यापारिक मेला महोत्सवहरु संचालन गर्न नपाउने सहमति भएको छ ।
त्यस्तै कार्यविधि स्वीकृत नभएसम्म कुनै पनि किसिमका व्यापारिक मेला महोत्सव लगाउन आवश्यक देखिएमा तुलसीपुर उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्श तथा घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको सिफारिसमा तुलसीपुर उपमहानगरपालिकाले अनुमति दिनु पर्ने सहमति भएको छ । मेला लगाउन नदिनका लागि तुलसीपुरका व्यवसायीहरु बुधबारदेखि विरोध गर्दै आएका थिए । विरोध स्वरुप तुलसीपुर बजार नै बन्द गराएका थिए । बिहीबार तुलसीपुर उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श, व्यापारी लगायतले तुलसीपुर उपमहानगरपालिकामा तालाबन्दी समेत गरेका थिए ।