दाङ । गढवा गाउँपालिकासंगको समन्वय र सहकार्यमा आम्दा माइन्ड्स जापानको सहयोगमा आम्दा नेपालद्धारा संचालित कार्यक्रमहरुको समिक्षा गरिएको छ । आम्दा नेपालको मातृशिसु स्वास्थ्य परियोजनाले गढवा गाउँपालिकाका बिभिन्न क्षेत्रहरुमा संचालन गरेका कार्यक्रमहरुको अर्धबार्षिक समिक्षा तथा परियोजना सल्लाहकार समिति बैठक बिहिवार गढवामा सम्पन्न भएको हो ।
गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीले आम्दा नेपालले गढवा गाउँपालिकालाई स्वाथ्यकोे क्षेत्रमा निकै राम्रो सहयोग गरिरहेको बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष यादवले आम्दा नेपालले गाउँपालिकासंग समन्वय सहकार्य गर्दै स्वास्थ्य क्षेत्रमा भौतिक निर्माण देखि सामुदायिक स्वास्थ्य सचेतनामा महत्वपुर्ण काम गरेको भन्दै धन्यवाद ब्यक्त गर्नुभयो ।
कार्यक्रममा आम्दा माइण्ड्सका प्रदिपराज पन्त,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी,वडा अध्यक्षहरु,बिषयगत शाखाका कर्मचारीहरु,स्वास्थ्य संयोजक कैलाश चौधरी,आम्दा नेपालका अच्युत सापकोटा तथा आम्दा नेपालका कार्यक्रम प्रबन्धक राजेन्द्र रुचाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा परियोजनाले बिगत ६ महिना सम्म गरेका कामहरु र आगामी ६ महिना सम्म संचालन गर्ने कार्यक्रमहरुको बारेमा प्रबन्धक रुचालले जानकारी गराउनु भएको थियो ।
त्यस्तै आम्दा नेपालले गढवा गाउँपालिकाका बिभिन्न वडा तथा दुर्गम बस्तिहरुमा नागरिकहरुलाई स्वास्थ्य सेवाको पहुँच पुर्याउन भौतिक निर्माण र सामुदायिक स्वास्थ्य सचेतनाका गतिविधिहरु संचालन गरेको कार्यक्रममा जानकारी गराइएको छ । जस अनुसार गढवा–२ को महदेवा र गढवा ३ को गोबरडिहामा यसबर्ष सामुदायिक स्वास्थ्य इकाई भवनहरु बनाउदै गरेको र गढवा ५ कक्रहवा तथा गढवा ६ खबरीमा गाउँघर क्लिनीक भवनहरु बनाउने तयारी गरेको बताइएको हो । यसका अलावा अन्य स्थानमा निर्माण भै संचालनमा रहेका गाउँघर क्लिनिक र सामुदायिक स्वास्थ्य इकाई ब्यवस्थापन समितिका पदाधिकारी तथा स्वास्थ्यकर्मिहरुलाई संचालन ब्यवस्थापन क्षमता अभिबृद्धि, आमा समूह तथा महिला स्वासथ्य स्वयंसेविकाहरुलाई क्षमता बिकास,८ जना स्वास्थ्यकर्मिहरुलाई इम्प्लाण्ट तालिम,गर्भवती आमा र उनका श्रीमानहरुलाई गर्भजाँच र स्याहार सम्बन्धि १ सय,१९ जनालाई अभिमुखिकरण र अन्तर्राष्ट्रिय स्तनपान सप्ताहमा पालीकाका दुर्गम बस्तिहरुमा १ सय ११ जना आमाहरुलाई सचेतना प्रवाह गरिएको कार्यक्रम प्रबन्धक रुचालले जानकारी दिनुभयो ।
यसैगरि बिश्व स्वास्थ्य दिवसमा आमा समूहहरु बिच स्वास्थ्य हाजिरी जवाफ,स्वयंसेविका मार्फत ७२ स्थानमा आमा समूहका बैठकमा सहजीकरण,खोप क्लिनीक र गाउँघर क्लिनीकमा स्वास्थ्य संस्थाहरुलाई सपोर्ट तथा सुरक्षित मातृत्वव संसार रेडियो कार्यक्रम समेत संचालन गरिएको सो अवसरमा जानकारी गराइएको थियो । कार्यक्रममा आगामी ६ महिनामा गरिने कार्यक्रमका बारेमा पनि परियोजना सल्लाहकार समितिलाई जानकारी गराइएको थियो । आम्दा नेपालका सामुदायिक स्वास्थ्य परिचालक सुनिता चौधरीको स्वागत मन्तबयबाट सुरु भएको कार्यक्रमको संचालन सा.स्वा.प.बर्षा पाण्डेयले गर्नुभएको थियो ।