दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ६ का भरत कुमार पन्तले गाउँपालिकामा ३५ हजार ५ सय जम्मा गरेपछि ७० हजारको मिनी पावर ट्रिलर पाएको बताउनुभयो । मनिकापुर बहुउद्देश्यिय कृषि समूहका सचिव सुर्यबहादुर बुढा पनि गाउँपालिकाले पचास प्रतिशत अनुदानमा वितरण गर्न थालेको मिनीपावर टेलर चलाउदै घर जानु भयो ।
पावर टेलरले आफ्नो १०÷१५ कठ्ठा जमिन जोत्न र करेसाबारीमा तरकारी खेति गर्न सहज हुने र डिजल पनि निकै कम लाग्ने उहाँले बताउनुभयो । गढवा गाउँपालिका वडा नम्बर ७ का बिर्जा चौधरी, कालीप्रसाद चौधरी र सरिता चौधरीले पनि मंगलबार गढवा गाउँपालिकाले ५० प्रतिशत अनुदानमा वितरण गरेका पावर टेलर आफैले चलाएर घरमा लैजानु भयो । सरकारले आधा रकम सहुलियतमा पावर टेलर प्राप्त गराएकोमा उहाँहरु खुसी भएको बताउनुभयो । पन्त बुढा र चौधरीले जस्तै गढवा गाउँपालिकाबाट २५ जना किसान, समुह र सहकारीहरुले २५ थान पावर टेलर प्राप्त गर्दा खुसी भएर घर फर्किएका हुन् ।मंगलवार गढवा गाउँपालिकाले आयोजना गरेको एक कार्यक्रमका बिच अध्यक्ष सहजराम यादव,उपाध्यक्ष शान्ती चौधरी र प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगीले किसानहरुलाई मिनीपावर टे«लर,च्याङ्फा र धानकाट्ने रिपर मसिन वितरण गर्नुभएको हो । लुम्बिनी प्रदेश सरकारको कोभिड बिशेष कृषि कार्यक्रम अन्तर्गत गढवा गाउँपालिकाले मंगलबार किसानहरुलाई ५० प्रतिशत अनुदानमा मिनीपावर ट्रेलर,च्याङ्फा र धानकाट्ने रिफर मसिन वितरण गरेको छ । किसानहरुलाई प्रदेश सरकार र स्थानीय सरकारले साना कृषि औजार तथा उपकरण वितरण गरि कृषिमा आत्मनिर्भर बनाउने र आयआर्जनमा टेवा पुरयाउने उद्देश्य राखेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताउनुभयो ।
गढवा गाउँपालिका कृषि बिकास शाखाको समन्वय सहकार्यमा ५० प्रतिशत अनुदानमा किसानहरुलाई मसिनरी औजारहरु वितरण गरिएको कृषि अधिकृत सिसीर रेग्मीले जानकारी दिनु भयो । शाखाले ५० प्रतिशत अनुदानमा २२ जना किसानहरुलाई एक–एक थानका दरले २२ थान २ हर्षपावरका मोटर र ७ हर्षपावर क्षमताका २५ थान मिनी पावर ट्रेलर वितरण गरेको जनाएको छ । यसैगरी २ थान धान काट्ने रिफर मसिन र ५ थान च्याङ्फा धानपाकेट क्षेत्रका सहकारी तथा समूहलाई वितरण गरिएको शाखाका प्रमुख कर्ताराम यादवले जानकारी दिनु भयो ।