Sidha Patra शुक्रबार, जेठ १४, २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र रोजगारीका अवसर बढ्दै र श्रमशक्ति बाहिरिने क्रम घट्दै गएको बताएका छन् ।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् २ लाख प्रत्यक्ष रोजगारी उपलब्ध भएको बताएका छन् । १ सय ३८ स्थानीय तहमा राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट महिलाहरूको जीविकोपार्जन सुधार कार्य सुरु भएको जानकारी पनि ओलीले दिएका छन् । पुनर्निर्माण सामर्थ्यको प्रतीक बनेर धरहरा, रानीपोखरी र दरबार हाइस्कूल राजधानीको मुटुमा स्थापित भएको पनि उनले उल्लेख गरेकान छन् ।

भव्य रूपमा सम्पन्न भएको दक्षिण एसियाली खेलकुदमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको त्रिदेशीय फुटबल, क्रिकेटहरूमा पनि नेपालको प्रदर्शन उदाहरणीय रहेको प्रधानमन्त्रीको भनाइ छ ।त्यस्तै उनले चीरप्रतिक्षित मेलम्चीको पानी काठमाडौंमा अवतरणसँगै काठमाडौं बासीका पानीको तिर्खा मेटिएका बताएका छन् । छिट्टै याङ्ग्री र लार्केको पानी मेलम्चीमा सामेल गरेर खानेपानीको समस्याको दिगो समाधान गर्ने प्रयास अगाडि बढेको उनले प्रधानमन्त्रीले जानकारी दिएका छन् ।

प्रतिव्यक्ति आय औसतमा २५ प्रतिशतले बढेको भन्दै प्रधानामन्त्री ओलीले पहिलो पल्ट निर्यात व्यापारले एक खर्बको लक्ष्य नाघेको भन्दै व्यापार घाटा घट्दो क्रममा रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख गरेका सरकारका प्रगति विवरण जस्ताको तस्तै :

कोभिड १९ जस्तो ठूलो महामारीको सामना गर्न एकीकृत, समन्वयात्मक र “समग्र राष्‍ट्र” रणनीति आवश्यक पर्दछ। यसै खाँचोलाई पूर्ति गर्न “कोभिड सङ्‍कट व्यवस्थापन अध्यादेश २०७८” जारी गरिएको छ। यसबाट राज्यको सम्पूर्ण शक्ति कोभिड विरुद्ध परिचालित गर्ने बाटो सहज भएको छ। अध्यादेशको व्यवस्था बमोजिम प्रधानमन्त्रीको अध्यक्षतामा निर्देशक समिति र यस मातहत चौबिसै घण्टा खटिने गरी कोभिड सङ्‍कट व्यवस्थापन केन्द्र स्थापना भएको छ। वीर अस्पताललाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल तोकिएको छ। यहाँबाट कोभिड बिरामीहरूले स्क्रिनिङ, डायग्नोस्टिक, उपचार र अन्य सेवा पाउनुहुनेछ। वीर अस्पतालले जुनसुकै अस्पताल, संस्थान र मेडिकल कलेजहरूलाई कोभिडको उपचारमा समन्वयात्मक ढङ्‍गले परिचालन गर्नेछ। आवश्यकता अनुसार स्वास्थ्य सङ्‍कटकाल लगाउन सकिने व्यवस्था गरिएको छ।

कोभिड उपचारका लागि १५७ अस्पतालहरू सूचीकृत भएका छन्। कोभिडको नि:शुल्क उपचारका लागि ४५ निजी अस्पतालसँग सम्झौता गरिएको छ। महामारी सुरु भएको एक वर्षको अवधिमा भेण्टिलेटरको सङ्ख्या ३२७ बाट ९०४, आइसियु बेड २६०० बाट ३००० पुर्‍याइएको छ। अस्पतालमा २८५३ हाइडिपेन्डेन्सी युनिट (एचडीयू) थप भएका छन्। ९०० अक्सिजन कन्सन्ट्रेटर थपिएका छन्। छिटै १८० भेन्टिलेटर, ६३० आइसीयू, १४०० एचडीयू र १९ अक्सिजन प्लान्ट थपिनेछन्।

अनेकौं प्रतिकूलताका बीचमा पनि विगत तीन वर्षमा नेपालले उल्लेख्य प्रगति हासिल गरेको छ। संविधान कार्यान्वयन र सङ्‍घीयताको सुदृढीकरण, आर्थिक वृद्धि, रणनीतिक महत्वका पूर्वाधारको विकास, सामाजिक न्याय र सुरक्षा, राष्‍ट्रियताको सम्वर्द्धन एवं सुशासनका क्षेत्रमा हाम्रा योजनाबद्ध प्रयासहरूको प्रतिफल देखिन थालेको छ।

संविधान पूर्ण कार्यान्वयनमा आएको छ। सङ्‍घीय प्रणाली संस्थागत र क्रियाशील भएको छ। लामो समयदेखि रिक्त रहेका संवैधानिक निकायहरूले पूर्णता पाएका छन्। ५० भन्दा बढी कानुनहरू बनेका छन्। पृथकतावादको अभियान चलाइरहेको समूह विखण्डनको बाटो छाडेर राष्‍ट्रिय अखण्डताको पक्षमा उभिन सहमत भएको छ। हिंसाको बाटो हिँडिरहेको समूह हिंसा परित्याग गर्दै आफ्ना सबै राजनीतिक गतिविधिहरू शान्तिपूर्ण ढङ्‍गले सञ्‍चालन गर्न सहमत भएको छ। संविधानको सर्वस्वीकार्यता स्थापित भएको छ। मुलुक हिंसात्मक द्वन्द्वबाट मुक्त हुनु र पृथकतावादी गतिविधि अन्त्य हुनु यस कालखण्डको महत्वपूर्ण उपलव्धिका रूपमा पछिसम्म पनि अङ्‍कित रहनेछन्।

नेपाल अल्पविकसितबाट विकासशील देशमा स्तरोन्‍नतिका लागि सिफारिस भएको छ। कोभिड महामारी सुरु हुनु अगाडि हाम्रो आर्थिक वृद्धि आशालाग्दो थियो। महामारीले गम्भीर धक्‍का पुर्‍याए पनि हामीले यसलाई सम्हालेका छौं र समग्रमा सकारात्मक आर्थिक विकासको बाटोमा अग्रसर छौँ। पहिलो पल्ट निर्यात व्यापारले एक खर्बको लक्ष्य नाघेको छ, व्यापार घाटा घट्दो छ। देशभित्र रोजगारीका अवसर बढ्दै र श्रमशक्ति बाहिरिने क्रम घट्दै छ।

यस अवधिमा ३३३ मेगावाट विद्युत् उत्पादन थप भएको छ भने यसै आर्थिक वर्षभित्र थप ५०० मेगावाट विद्युत् थप हुँदैछ। लोडसेडिङको अन्त्य, पर्याप्‍त विद्युत् आपूर्ति र अतिरिक्त विद्युत्‌को बाह्‍य व्यापार सुरु भएको छ। बाह्‍य लगानी बढिरहेको छ।

तीन वर्षको अवधिमा नेपालीको औसत प्रतिव्यक्ति आय २५ प्रतिशतले वृद्धि भएको छ। मानव विकास विकास सूचकाङ्‍कमा ५ प्रतिशत बिन्दुको सुधार भएको छ। कोभिड-१९ को महामारीका बीच पनि निरपेक्ष गरिबी उल्लेख्य वृद्धि हुन पाएको छैन।

रणनीतिक पूर्वाधारहरूको क्षेत्रमा इतिहासमै धेरै उपलव्धि हासिल भएका छन्। सडक, मोटर र झोलुङ्गे पुल, .तुइन विस्थापन लगायत क्षेत्रमा भइरहेका प्रगतिबारे यस अघि नै प्रस्तुत तथ्याङ्‍क म दोहोर्‍याउन चाहन्‍नँ। कुल रणनीतिक सडकमध्ये १७.१ प्रतिशत सडक विगत तीन वर्षमा मात्र निर्माण भएका छन्। तीन वर्षमा सम्पन्‍न गर्ने गरी १ सय ६५ वटै निर्वाचन क्षेत्रमा एक/एक रणनीतिक सडक र स्थानीय तहहरूलाई एक आपसमा जोड्ने र सबै स्थानीय तहका केन्द्रदेखि प्रदेश राजधानी जोड्ने सडकको निर्माण सुरु भएको छ। सबै पालिका र क्षेत्रहरूमा यिनको दूरगामी सकारात्मक प्रभाव पर्नेछ।

तीव्र रूपमा निर्माण भइरहेको काठमाडौं-तराई द्रुत मार्गले केही वर्षभित्रै परिणाम दिनेछ। विस्तार भइरहेको पूर्व-पश्‍चिम राजमार्ग, निर्माण सम्पन्‍न हुन थालेको पुष्पलाल लोकमार्ग र निर्माणाधीन मदन–भण्डारी राष्‍ट्रिय राजमार्गले अर्थतन्त्र र सामाजिक जीवनलाई थप गतिशील बनाउनेछन्। बहुप्रतिक्षित हुलाकी राजमार्गका महत्वपूर्ण खण्ड सम्पन्‍न भएसँगै तराईमा विकासका सम्‍भावना थपिएका छन्।

भैरहवा र पोखरामा निर्माण सम्पन्‍न हुने चरणमा पुगेका अन्तर्राष्‍ट्रिय विमानस्थलहरूले पर्यटन प्रवर्द्धनमा उल्लेख्य योगदान गर्नेछन्। गोदावरीमा ३ हजार र लुम्बिनीमा ५ हजार क्षमताका सभाहल निर्माण भएका छन्। जयनगर-जनकपुर-कुर्था रेल छिटै सञ्‍चालनमा आउनेछ। नागढुङ्‍गा सुरुङ मार्ग निर्माण तीव्र रफ्तारमा अगाडि बढेको छ भने सिद्धबाबामा सुरुङ निर्माणका लागि बोलपत्र आह्‍वान भएको छ।

चीरप्रतिक्षित मेलम्चीको पानी काठमाडौंमा अवतरणसँगै काठमाडौंबासीका पानीको तिर्खा मेटिएको छ। छिट्‍टै याङ्ग्री र लार्केको पानी मेलम्चीमा सामेल गरेर खानेपानीको समस्याको दिगो समाधान गर्ने प्रयास अगाडि बढेको छ। सङ्‍घ, प्रदेश र स्थानीय तहको समन्वयबाट कुल जनसङ्ख्याको ९२ प्रतिशतलाई आधारभूत खानेपानी सुविधा उपलब्ध गराउन सफल भएका छौं।

भेरी-बबई डाइभर्सनको सुरुङको काम सम्पन्‍न भएर सिँचाइ पूर्वाधारका काम सुरु भएका छन् भने सुनकोशी-मरिन डाइभर्सनको काम सुरु भएको छ। यी दुई “गेमचेञ्‍जर” परियोजनाले तराईबासीहरूका वर्षौं पुराना सपनालाई पूरा गर्दै हामीलाई खाद्यान्‍नमा आत्मनिर्भर बनाउन योगदान गर्नेछन्।

भूकम्पपछिको पुनर्निर्माणलाई हामीले उदाहरणीय रूपमा सम्पन्‍न गरेका छौं। भूकम्पका कारण बेघरबार बनेका ८ लाखभन्दा बढी परिवार सुरक्षित घरमा फर्किन थाल्नुभएको छ। विद्यालय भवन, स्वास्थ्य संस्थाहरू र सरकारी कार्यालयहरूको पुनर्निर्माण तीव्र रफ्तारमा अगाडि बढेको छ। हाम्रो पुनर्निर्माण सामर्थ्यको प्रतीक बनेर धरहरा, रानीपोखरी र दरबार हाइस्कूल राजधानीको मुटुमा स्थापित भएका छन्। भव्य रूपमा सम्पन्‍न भएको दक्षिण एसियाली खेलकुदमा नेपालले उत्कृष्‍ट प्रदर्शन गरेको छ। त्रिदेशीय फुटबल, क्रिकेटहरूमा पनि नेपालको प्रदर्शन उदाहरणीय रहेको छ।

हरेक नेपाली व्यवस्थित ओत भएको सुरक्षित घरमा बस्न पाउनुपर्छ भन्‍ने सरकारको प्रतिबद्धता अनुरूप तीन वर्षको अवधिमा १३ हजारभन्दा बढी जनता आवास निर्माण भएका छन्। ७ हजार फुस तथा खरका छाना जस्तापाताले प्रतिस्थापन गरिएका छन्। कसैले पनि सडकमा जीवन गुजारा गर्न नपरोस् भन्‍ने उद्देश्यले सडक मानवरहित सहर र वस्तीको अवधारणा कार्यान्वयनमा ल्याइएको छ। टोर्नाडोबाट घरबारविहीन बन्‍न पुगेका नागरिकहरूका लागि छोटो समयमै ८६९ सुरक्षित घर निर्माण गरेर हस्तान्तरण गरिएको छ। बाढी, पहिरो, डुबान, आगलागी, चट्याङ आदिबाट घरबारविहीन हुन पुगेका नागरिकलाई सुरक्षित आवास उपलव्ध गराउने प्रक्रिया सुरु गरिएको छ।

सुकुम्बासी समस्या र अव्यवस्थित बसोबासको समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गरी कार्य प्रारम्भ गरिएको छ। सरकारी, सार्वजनिक र गुठी जग्गाको यथार्थ अवस्था पहिचान गरी प्रतिवेदन पेश गर्न गठित कार्यदलको प्रतिवेदन प्राप्‍त भएको छ। २ सय हेक्टर अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याइएको छ। मुलुक प्रमुख पशुपन्छीजन्य पदार्थमा आत्मनिर्भर भएको छ। प्रमुख खाद्यान्‍न बालीको उत्पादनमा ११ प्रतिशतले वृद्धि भएको छ। कृषक सूचीकरण अभियान सुरु गरिएको छ। तीन वर्षको अवधिमा थप ३० हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याइएको छ। देशभित्रै रासायनिक मल कारखाना स्थापना गर्ने प्रक्रिया अगाडि बढेको छ। माटोको गुणस्तरको डिजिटल परीक्षण सुरु गरिएको छ। “मेरो कित्ता” नामक एप्स कार्यान्वयनमा आएसँगै नागरिकहरूले आफ्नो जग्गाको कित्ता नम्बरसहितको नक्सा आफैंले हेर्न र छाप्न सक्ने व्यवस्था भएको छ।

यसै आर्थिक वर्षमा ६ वटा नयाँ औद्योगिक क्षेत्रको निर्माण सुरु भएको छ। स्थानीय तहमा ७४ औद्योगिक ग्राम घोषणा भई काम थालिएको छ। अन्तर्राष्‍ट्रिय व्यापार वृद्धिका लागि भारत, बङ्‍गलादेश, अमेरिका र भूटानसँग वाणिज्य वार्ता सम्पन्‍न भएका छन्।

तीन वर्षको अवधिमा ६ वर्षभन्दा माथि उमेर समूहको साक्षरता दर ७ प्रतिशत बिन्दुले बढेको छ। सरदर भर्नादर ८६ प्रतिशत पुगेको छ। कुल ४ सय ८४ प्राविधिक धारका विद्यालय स्थापना भएका छन् भने ५ सय ७२ सामुदायिक विद्यालयहरूमा प्राविधिक शिक्षा उपलब्ध भएको छ। देशभरका ३ सय ८३ स्थानीय तहमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रको पहुँच पुगेको छ।

एक वर्षको अवधिमा विभिन्‍न अस्पतालहरूमा ७ हजार ६ सय ४५ शैया थप भएका छन्। सबै स्थानीय तहमा आधारभूत अस्पताल स्थापना गर्ने लक्ष्यअनुरूप ३ सय ९६ स्थानीय तहमा निर्माण कार्य सुरु गरिएको छ। एक वर्ष अगाडि कोभिडलगायत केही जटिल परीक्षण स्वदेशमा हुन नसक्ने अवस्था रहेकोमा हाल स्वदेशमै ८७ प्रयोगशालामा कोभिड-१९ को परीक्षण हुने गरेको छ। कडा रोग लागेका कुल ३८ हजार ९ सय ९ जनालाई निःशुल्क स्वास्थ्य उपचार गरिएको छ।

त्यस्तै ७५ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गरिएको छ। सामाजिक सुरक्षा कार्यक्रममा ३२ लाख ५९ हजार नागरिक आबद्ध भएका छन। सामाजिक सुरक्षा कोषमा १३ हजार ७ सय प्रतिष्‍ठान र २ लाख श्रमिक आबद्ध भएका छन। प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् २ लाख प्रत्यक्ष रोजगारी उपलब्ध भएको छ। १ सय ३८ स्थानीय तहमा राष्‍ट्रपति महिला उत्थान कार्यक्रमबाट महिलाहरूको जीविकोपार्जन सुधार कार्य सुरु भएको छ। जोखिममा परेका १५० भन्दा बढी सुत्केरीको हवाई उद्धार गरिएको छ। महिलाविरुद्ध हुने हिंसालाई दण्डित गर्न एसिड अपराध र बलात्कार नियन्त्रणसम्बन्धी कडा कानुनी व्यवस्था गरिएको छ।

सार्वजनिक तथा निजी क्षेत्रबाट प्रवाह गरिने सेवालाई छिटोछरितो, सर्वसुलभ, पहुँचयोग्य र प्रविधिमैत्री बनाउने गरी नागरिक एप्स सञ्‍चालनमा ल्याइएको छ। सरकारी राजस्व विद्युतीय माध्यमबाट सङ्‍कलन हुने व्यवस्था मिलाइएको छ। हालसम्म १४ जिल्लामा २८ लाख राष्‍ट्रिय परिचयपत्र वितरण गरिएको छ। सबै जिल्लामा फोरजीसहितको इन्टरनेट सेवा विस्तार भएको छ।

नेपालको अन्तर्राष्‍ट्रिय सम्बन्धमा उल्लेख्य विस्तार भएको छ। अभूतपूर्व राष्‍ट्रिय सहमतिका साथ लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरी नेपालको नयाँ राजनीतिक नक्सा जारी गरिएको छ। हालसम्म १ सय ७० मुलुकसँग कुटनीतिक सम्बन्ध विस्तार भएको छ। भर्चुअल माध्यमबाट उच्चस्तरीय वार्ता तथा सम्वाद भएका छन्। प्रतिभा प्राप्‍ति केन्द्र (ब्रेन गेन सेन्टर) सञ्‍चालनमा आएको छ। साभार अनलाइन खबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]