
Lnp
Sdc
Ggp
Asbus
Ksbus
Ksbus
Rgp
Msbus
Ggp


दाङ । रसुवाको भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित घाइते तथा विस्थापित श्रमिकलाई दाङको लमहीमा सामाजिक संघसंस्थाले सहयोग गरेका छन् ।
लमही जेसीज सहकार्य एवम पहलमा लाइन्स क्लब लमही, रोटरी क्लब अफ लमही,रोट्रयाक्ट लगायतका सामाजिक संस्थाले आइतबार भदौ १४ गते लमही नगरपालिका ३ मझगाउँमा रहेको कोल्ड्स्टोरमा उनीहरुलाई खाजा तथा नास्ताको व्यवस्था गरेका हुन् । भोटेकोशी क्षेत्रमा हाइड्रो पावरमा काम गर्न गएका बर्दिया जिल्लाका २३ जना श्रमिक बाढीपछि विस्थापित भएका थिए । बाढीको चपेटामा परेका उनीहरूलाई करिब पाँच घण्टापछि हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं पुर्याइएको थियो ।
काठमाडौं पुगेपछि त्यहाँ स्थित जेसीजका साथीहरुले बर्दिया नगरपालिका तथा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाएर उनीहरुलाई घर फर्काउने वातावरण तयार गरेको लमही जेसीजका अध्यक्ष जयप्रकाश पौडेलले जानकारी दिए ।
जेसीजकै समन्वयमा व्यवस्था गरिएको बसमार्फत घर फर्किने क्रममा ती श्रमिक माथि पुनः अर्को विपत्ति आइ लाग्यो । नवलपरासीको डण्डामा रोकिराखेको टिप्परसँग बस ठोक्किँदा बसमा सवार सबैजना घाइते भए । दुर्घटनापछि प्रहरीले उनीहरुको उद्धार गरी स्थानीय अस्पतालमा उपचार गराएको थियो । उपचारपछि त्यहाँका जेसीजकर्मीहरुले नगरपालिका सङ्ग समन्वय गरेर अर्को सवारीसाधनको व्यवस्था गरी उनीहरुलाई पुनः गन्तव्यतर्फ पठाएका थिए ।
भोटेकोशीको विनाशकारी बाढीबाट बालबाल बचेका श्रमिकहरु घर फर्किने क्रममा भएको बस दुर्घटनामा समेत घाइते भएका छन् । कसैको निधारमा चोट लागेको छ भने कसैको मुख, कान तथा शरीरका विभिन्न भागमा चोटपटक लागेको छ । कल्पनासमेत गर्न नसकिने विपद्को सामना गरेर ज्यान जोगाएका उनीहरु मलिन अनुहारमा छिट्टै आफ्ना परिवारसँग भेट हुने आशामा घरतर्फ फर्किरहेका थिए ।
त्यस्तै,बाढीपहिरो र दुर्घटनाको दोहोरो पीडा भोगेका श्रमिकलाई लमहीमा खाजा नास्ताको व्यवस्था गर्दै सामाजिक संस्थाहरुले मानवीय सहयोगको उदाहरण प्रस्तुत गरेका छन् । लमही क्षेत्रमा सामाजिक तथा मानवीय सेवामा सक्रिय रहँदै आएका लमही जेसीज लगायतका संस्थाले विभिन्न विपद तथा आपत्कालीन अवस्थामा प्रभावित नागरिकलाई सहयोग गर्दै आएका छन् ।
खाजा नास्ता वितरण कार्यक्रममा लमही जेसीजका अध्यक्ष जयप्रकाश पौडेल,लाइन्स क्लब लमहीका प्रथम उपाध्यक्ष देवान जंग चौधरी,द्वितीय उपाध्यक्ष उमाकान्त चौधरी,रोट्याक्ट का अध्यक्ष निम भुसाल लमही जेसीजका महासचिव केशव दीपक शर्मा लगायत सामाजिक कार्यमा सक्रिय महिला तथा अन्य सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो । बाढीको त्रासबाट ज्यान जोगाएर घर फर्किरहेका श्रमिकका लागि गरिएको यो सहयोग खाजा नास्तामा सीमित नभई विपदको कठिन घडीमा मानवीय साथ र सहकार्यको भावनाको उदाहरण बनेको छ ।

