
Asbus
Ggp
Sdc
Ggp
Ksbus
Lnp
Rgp
Msbus
Ksbus


दाङ । रसुवागढी क्षेत्रमा बुधबार आएको भीषण बाढीबाट प्रभावित नागरिकहरूको पीडामा साथ दिँदै राजपुर गाउँपालिका–१, गुरुङखोला स्थित ज्योति आधारभूत विद्यालय परिवारले मानवीय सहयोगको हात अघि बढाएको छ ।
प्राकृतिक विपत्तिका कारण धेरै परिवारको घर–आँगन उजाडिएको र जनजीवन प्रभावित भएको दुःखद् अवस्थामा पीडितहरूको राहत तथा पुर्नस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले नेपाल सरकारले स्थापना गरेको प्रधानमन्त्री दैबिक प्रकोप उद्वार कोषमा विद्यालय परिवारले आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गरेको हो ।
बि.ब्य.अध्यक्ष तिल बहादुर चलाउने को तर्फबाट ५००,विद्यालयका प्रधानाध्यापक सकलराम चौधरी २,०००, सहायक प्रधानाध्यापक दिलबहादुर शाही १,००० तथा शिक्षक–कर्मचारीहरु इन्द्रा शाही, सन्तोष यादव, रोशन यादव, केशरी रावत, रेखा भण्डारी, प्रकाश बुढा, हस्तरा मल्ल र मुना शर्माले जनही ५०० गरि विद्यालय परिवारबाट कुल ७,५०० सहयोग रकम संकलन भएको हो ।
रकमको आकार सानो भएपनि त्यसमा पीडित प्रतिको ठूलो भावना,सहानुभूति र मानवीय संवेदना जोडिएको विद्यालय परिवारले जनाएको छ । विद्यालय परिवारका अनुसार,“हामीले दिएको रकम ठूलो नहुन सक्छ,तर विपत्तिमा परेका दाजुभाइ तथा दिदीबहिनीको पीडामा हामी पनि उनीहरूसँगै छौँ भन्ने सन्देश दिन चाहेका हौँ ।”
राजपुर गाउँपालिकाको एक सामुदायिक विद्यालयले विपत्तिको यस दुःखद घडीमा आफ्नो क्षमता अनुसार सहयोग गर्न पाउँदा आफूहरु गौरवान्वित भएको विद्यालय परिवारले जनाएको छ । साथै, बाढीबाट प्रभावित सम्पूर्ण परिवारप्रति गहिरो दुःख व्यक्त गर्दै पीडितहरूको जीवनमा पुनः खुसी फर्कियोस् तथा राहत,उद्धार र पुर्नस्थापनाका कार्यहरु शीघ्र प्रभावकारी रुपमा अघि बढून् भन्ने कामना गरेको छ । विद्यालय परिवारले “विपत्तिमा पीडितलाई सम्झनु नै सबैभन्दा ठूलो मानवता हो”भन्ने भावनाका साथ अन्य विद्यालय,शिक्षक–कर्मचारी,अभिभावक तथा सम्पूर्ण शिक्षाप्रेमी महानुभावहरूलाई समेत आफ्नो क्षमता र इच्छाअनुसार सहयोग गरी विपत्तिमा परेका नागरिकहरूको पीडामा साथ दिन हार्दिक अपिल समेत गरेको छ ।
साथै,यस प्राकृतिक विपत्तिमा ज्यान गुमाउनुहुने सम्पूर्ण मृतकहरुप्रति ज्योति आधारभूत विद्यालय परिवारले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गरेको छ । बाढीमा परी घाइते हुनुभएका सम्पूर्ण घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रभावित परिवारहरुको दुःखमा विद्यालय परिवार सदैव साथमा रहने प्रतिबद्धता व्यक्त गरेको छ । सानो सहयोगले कसैको पीडामा ठूलो आशा जगाउन सक्छ । आज हामीले दिएको एउटा सानो हातले भोलि कसैको जीवनमा उज्यालो ल्याउन सक्छ ।
