
Ksbus
Ggp
Msbus
Rgp
Ggp
Asbus
Sdc
Ksbus
Lnp


काठमाडौँ । रसुवाको भाेटेकाेशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनाका लागि एनसेल फाउन्डेसनले १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
एनसेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गर्ने जनाएको हो । बुधबार रसुवाको भाेटेकाेशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि कम्पनीले सरकारको आह्वानमा सहयोग घोषणा गरेको हो ।
त्यस्तै,एनसेलले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै बेपत्ता तथा प्रभावित नागरिकको शीघ्र उद्धार र राहत व्यवस्थापनको कामना गरेको छ । बाढी प्रभावित क्षेत्रमा रहेका आफ्ना ग्राहकलाई एनसेलले सञ्चार सेवामार्फत समेत सहयोग गरिरहेको जनाएको छ । कम्पनीका अनुसार प्रभावित क्षेत्रमा रहेका ग्राहकलाई बुधबारदेखि लागू हुने गरी ३ दिनसम्म भ्वाइस र डेटा सेवा तथा १०० वटा एसएमएस निःशुल्क उपलब्ध गराइएको छ ।
यसबाट प्रभावित नागरिकलाई परिवार, आफन्त तथा उद्धार र राहतमा संलग्न टोलीसँग सम्पर्कमा रहन सहज हुने एनसेलको अपेक्षा छ । एनसेलकी कर्पोरेट कम्युनिकेसन,मार्केटिङ तथा सस्टेनेबिलिटी निर्देशक विशाखा लक्ष्मी खड्काले विपद्को कठिन समयमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा जिम्मेवारी भएको बताइन् ।
त्यस्तै,‘उद्धार, राहत र पुनःस्थापनाका प्रयासमा सरकार तथा सम्बन्धित निकायलाई सहयोग पुर्याउने उद्देश्यले १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेका हौँ,’ उनले भनिन्, ‘यस विषम परिस्थितिमा हामी प्रभावित परिवार तथा समुदायसँगै रहेको जानकारी गराउन चाहन्छौँ ।’ एनसेलले यसअघि पनि विभिन्न प्राकृतिक विपद्का समयमा उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सहयोग गर्दै आएको जनाएको छ । आगामी दिनमा पनि प्रभावित समुदायको आवश्यकता र अवस्थालाई ध्यानमा राखेर सहयोग तथा सहकार्यलाई निरन्तरता दिने एनसेल कम्पनीले जनाएको छ ।
