
Amb
ksbus
Sdc


दाङ । पत्रकारलाई बलात्कार आरोपितको समाचार लेख्न दबाब दिँदै ज्यान मार्ने धम्की दिइएको छ । ‘लुम्बिनी सेरोफेरो’ मिडियाका सञ्चालक एवं सम्पादक आशिष केसीलाई फोन मार्फत यस्तो धम्की आएको हो ।
धम्की दिने व्यक्ति दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ श्रीगैं स्थायी घर भई हाल अमेरिका बस्ने यादव केसी हुन् । पत्रकार केसीका अनुसार सुरुमा यादवले तुलसीपुर–७ का एक बलात्कार आरोपितको विरुद्धमा समाचार लेख्न दबाब दिएका थिए । यादवले ती आरोपित व्यक्ति दोषी नै रहेको दाबी गर्दै तत्काल समाचार सार्वजनिक गर्न धम्क्याएका थिए ।
त्यसक्रममा पत्रकार केसीले आरोप लाग्दैमा कुनै पनि व्यक्ति दोषी ठहर नहुने, घटनाको अनुसन्धान प्रहरीबाट भइरहेको अवस्थामा पर्याप्त तथ्य र आधिकारिक पुष्टि बिना समाचार प्रकाशन गर्नु पत्रकारिताको आचारसंहिता विपरीत हुने स्पष्ट पारेका थिए ।
त्यस्तै,उनले कसैलाई दोषी वा निर्दोष ठहर गर्ने अधिकार अदालतको भएको उल्लेख गर्दै अदालतबाट दोषी प्रमाणित नभएसम्म केवल आरोपका आधारमा समाचार लेख्नु व्यावसायिक पत्रकारिताको मान्यता विपरीत हुने बताएका थिए ।
त्यसपछि यादव केसीले आफूले भने अनुसार समाचार प्रकाशन नगरेको भन्दै अपशब्द प्रयोग गरी गालीगलौज र ज्यान मार्ने धम्की दिएका छन् । साथै, उनले बलात्कार आरोपितबाट पैसा लिएर समाचार लुकाएको भन्ने आधारहीन आरोप समेत लगाएका छन् । आफूले अमेरिकामा महिनाको ५/७ लाख कमाउने बताउँदै नेपालमा बसेर ८/१० हजार कमाउनेले आफूसँग प्रतिस्पर्धा गर्न नसक्ने चेतावनी समेत दिएका छन् ।
यस घटनाबाट आफू अत्यन्तै दुःखी र त्रसित भएको पत्रकार केसीले बताएका छन् । यस किसिमको धम्कीले आफ्नो आत्मसम्मान र स्वतन्त्र पत्रकारितामाथि प्रहार भएको उनको भनाइ छ । पीडित पत्रकारले दोषीमाथि कारबाहीका लागि आवश्यक प्रमाण सहित कानुनी प्रक्रिया अगाडि बढाइसकेको बताएका छन् ।
प्रेस स्वतन्त्रता र पत्रकारको जीउज्यानको सुरक्षाका लागि स्थानीय प्रशासन तथा पत्रकार महासंघ लगायतका संघसंस्थाहरुले यस घटनामा तत्काल ध्यान दिनु आवश्यक रहेको उनको भनाई छ ।
