दाङ । चैत्र १५ गते सवारी दुर्घटनामा ज्यान गुमाएका युवा दाङ राजपुर गाउँपालिका वडा नम्बर ५ निवासी भोगेन्द्र सिंह राजपुतका कान्छा छोरा वर्ष २० का अभिनेश कुमार सिंह राजपुत भएको खुलेको छ । मृतक अभिनेश लामो समयदेखि भारतमा बस्दै आएकोले उतैबाट भारतीय आधार कार्ड बनाएको उनका बाबू भोगेन्द्रले बताए । अभिनेश भारतबाट ३/४ दिन अघि मात्र नेपाल आएका थिए । सोही कार्डको आधारमा भारतीय नागरिक भएको वडा प्रहरी कार्यालय लमहीले पुष्टि गरेको थियो ।
बुटवलदेखि दाङको घोराहीतर्फ जाँदै गरेको लु २ ख १४२८ नम्बरको यात्रुवाहक बस र घोराहीदेखि लमहीतर्फ आउंदै गरेको भे ६ प ८९३७ नम्बरको मोटरसाइकल आइतबार पौने ५ बजेतिर लमही नगरपालिका वडा नम्बर ६ बेल्दमारमा एक आपसमा ठोक्किदा सिंह गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका उनको उपचारका क्रममा ज्यान गएको थियो । मोटरसाईकललाई ठक्कर दिने बस र चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।