
Amb
Sdc
ksbus


दाङ । देउखुरीको राप्ती गाउँपालिका–५, सिसहनियाँमा भएको ठूलो परिमाणको सुन, चाँदी तथा नगद चोरी प्रकरणको सफल अनुसन्धान गर्दै लुम्बिनी प्रदेश प्रहरीले नेपाल–भारत सीमापार सक्रिय संगठित चोरी गिरोहका ४ सदस्यलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार सिसिटिभी फुटेजको सूक्ष्म विश्लेषण,प्राविधिक अनुसन्धान, गोप्य सूचना संकलन तथा नेपाल–भारत सीमाक्षेत्रमा गरिएको समन्वित अनुसन्धानका आधारमा कपिलवस्तुका मोहम्मद आजाम र ओवेस बेग तथा भारतका इरसाद खान र मोहम्मद साजिद पक्राउ परेका छन् । अनुसन्धानका क्रममा उक्त गिरोहका अरमान खान र इरसाद अहमद घटनाका मुख्य योजनाकार तथा वारदातमा प्रत्यक्ष संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।
त्यस्तै,दुवै जना हाल भारतको मुम्बईमा फरार रहेको र उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार मोहम्मद आजाम चोरीको योजनाकार तथा मोटरसाइकल चालकको भूमिकामा रहेका थिए । ओवेस बेगले चोरीका गरगहना भारततर्फ ओसारपसार गर्ने, इरसाद खानले वारदातमा प्रत्यक्ष संलग्न भई अन्य अभियुक्तलाई फरार गराउने तथा चोरीको सम्पत्ति व्यवस्थापनमा सहयोग गर्ने र मोहम्मद साजिदले चोरीका गरगहना खरिद गरी गलाएर बिक्री गर्ने कार्य गरेको खुलेको छ ।
यस्तै,उक्त गिरोहले घरबाट ४९ तोला १ आना सुन, ५२ तोला चाँदीका गरगहना तथा नगद रु. १ लाख ५० हजार चोरी गरेको थियो । घटनालाई उच्च प्राथमिकतामा राखी गरिएको अनुसन्धानपछि प्रहरीले गिरोहका सदस्यहरूलाई पक्राउ गर्न सफलता प्राप्त गरेको हो । पक्राउ परेका चारै जना विरुद्ध चोरी सम्बन्धी कसुरमा दाङ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको लुम्बिनी प्रदेश प्रहरीले जनाएको छ ।
त्यस्तै,प्रहरीले सीमापार हुने संगठित अपराध नियन्त्रण तथा फरार अभियुक्तहरूको खोजीका लागि नेपाल–भारत सुरक्षा निकायबीच आवश्यक समन्वय जारी रहेको समेत जनाएको छ ।
