
ksbus
Sdc
Amb


झापा । आवश्यक कागजात बिना सञ्चालन भइरहेका सिटी सफारी तथा अटो रिक्साहरूमाथि जिल्ला प्रहरी कार्यालय झापा र ट्राफिक प्रहरीले कडाइ गर्दै कारबाही गरेको छ ।
अटो र सिटी सफारीका चालकहरूले सवारी चालक अनुमतिपत्र (लाइसेन्स),बिलबुक तथा सवारी बिमा बिना नै सवारी साधन चलाइरहेको भन्दै सर्वसाधारणबाट जनगुनासो प्राप्त भएपछि प्रहरीले जिल्लाका विभिन्न स्थानमा संयुक्त अपरेसन सञ्चालन गरेको जनाएको छ ।
प्रहरीका अनुसार,विशेष चेकजाँचका क्रममा कुल २८५ वटा सिटी सफारी र ७३ वटा अटो गरी ३५८ वटा सवारी साधनको अनुगमन गरिएको थियो । जसमध्ये तोकिएका आवश्यक कागजातहरु नबोकेका १६८ वटा सिटी तथा अटोहरूलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यस्तै,उक्त कारवाहीबाट दुई लाख दश हजार राजस्व संकलन भएको छ । साथै,तत्काल आवश्यक कागजातहरू बुझाउन नसकेका २७ वटा सवारी साधनहरुलाई थप अनुसन्धान र कारवाहीका लागि प्रहरी नियन्त्रणमै राखिएको छ । सवारी नियमको पालना गराउन र दुर्घटना न्यूनीकरणका लागि यस्ता अनुगमनलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ ।
