
Amb
ksbus
Sdc


काठमाडौँ । विभिन्न पाँचबुँदे माग राख्दै लघुवित्त पीडितहरुले काठमाडौँको माइतीघर मण्डलामा सुरु गरेको सामूहिक आमरण अनसन शुक्रबार आजपनि जारी रहेको छ ।
‘लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति’ को नेतृत्वमा मङ्गलबारदेखि उक्त अनसन सुरु भएको हो । आन्दोलनरत पक्षले वित्तीय शोषणको अन्त्य र सामाजिक न्यायको प्रत्याभूति हुनुपर्ने भन्दै सरकारसमक्ष विभिन्न मागहरु अघि सारेका छन् । उनीहरुले सर्वोच्च अदालतको परमादेश बमोजिम लघुवित्त पीडितका तीनबुँदे असहमति सहितको प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने मागलाई मुख्य प्राथमिकतामा राखेका छन् ।
त्यस्तै,सङ्घर्ष समितिले जारी गरेको मागपत्रमा विद्यमान विशेष वित्तीय ऐन खारेज गरी मुलुकी देवानी संहितामा आधारित वित्तीय प्रणाली लागू गर्नुपर्ने उल्लेख छ । त्यसैगरी गरिब, मजदुर, सुकुम्बासी र किसानलाई ब्याज छुटसहित निःशुल्क ऋणको व्यवस्था गर्नुपर्ने तथा नागरिकको आवश्यकता र क्षमताका आधारमा रोजगारी एवं उचित पारिश्रमिक सुनिश्चित गर्नुपर्ने मागपनि गरिएको छ ।
यस्तै,आन्दोलनकारीहरूले निजी बैंक तथा वित्तीय संस्थाहरूको अन्त्य गरी मुलुकमा समाजवादी अर्थ व्यवस्था कायम गर्नुपर्ने दीर्घकालीन मागसमेत प्रस्तुत गरेका छन् । आफ्ना मागहरु पूरा नभएसम्म अनसन र आन्दोलनका कार्यक्रमहरूलाई निरन्तरता दिने सङ्घर्ष समितिले जनाएको छ ।
