
ksbus
Amb
Sdc


रुपन्देही । बर्दियाका डिभिजनल वन अधिकृत विजयराज सुवेदी लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्डबाट सम्मानित भएका छन् । वन क्षेत्रमा उत्कृष्ट पेशागत तथा व्यावसायिक योगदान पुर्याउने व्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल वन प्राविधिक संघ, लुम्बिनीले स्थापना गरेको अवार्ड पहिलोपटक सुवेदीलाई नगद ५० हजारसहित प्रदान गरिएको हो ।
वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराई, वन निर्देशनालयका महानिर्देशक ईश्वरी पौडेल, नेपाल वन प्राविधिक संघका केन्द्रीय महासचिव गोविन्द दाहाल तथा संघका लुम्बिनी अध्यक्ष केशव खड्काले संयुक्त रूपमा सुवेदीलाई कदरपत्र र अवार्ड हस्तान्तरण गरे ।
त्यस्तै,कार्यक्रममा सचिव भट्टराईले वन क्षेत्रका कर्मचारीको योगदानको राज्यले उचित मूल्याङ्कन गर्नुपर्ने उल्लेख गर्दै यस्ता सम्मानले जिम्मेवारी र उत्प्रेरणा बढाउने बताए। उनले वन संरक्षण, दिगो वन व्यवस्थापन र जैविक विविधता संरक्षणमा उत्कृष्ट योगदान गर्ने जनशक्तिलाई सम्मान गर्ने परम्परालाई संस्थागत बनाउनुपर्ने धारणा राखे ।
संघका अध्यक्ष खड्काले स्वतन्त्र र निष्पक्ष मूल्याङ्कनका आधारमा हरेक वर्ष वन क्षेत्रमा उत्कृष्ट योगदान गर्ने एक जनालाई अवार्ड प्रदान गर्ने व्यवस्था गरिएको बताए । उनका अनुसार सुवेदीले वन व्यवस्थापन, वन संरक्षण,वन अतिक्रमण नियन्त्रण तथा वन प्रशासनलाई प्रभावकारी बनाउन उल्लेखनीय नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।
यस्तै,अवार्ड ग्रहणपछि सुवेदीले उक्त सम्मानलाई व्यक्तिगत उपलब्धिभन्दा पनि सम्पूर्ण वन प्राविधिक समुदायको सम्मानका रूपमा लिएको प्रतिक्रिया दिँदै आगामी दिनमा वन संरक्षण,दिगो व्यवस्थापन र जनसहभागितामूलक वन प्रशासनलाई अझ प्रभावकारी बनाउन प्रतिबद्ध रहेको बताए ।
