
ksbus
Amb
Sdc


दाङ । देउखुरीको राप्ती गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ।
गाउँपालिकाका सबै ९ वटै वडामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्राप्त भएपछि शनिबार एक कार्यक्रमका बीच औपचारिक रुपमा गाउँपालिकालाई दिगोपना घोषणा गरिएको हो ।
कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको प्रमाणपत्र प्रदान गरेका थिए ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतका अनुसार पालिकाभित्र १६ महिनादेखि २३ महिनासम्म तथा २४ देखि ५९ महिनासम्मका बालबालिकालाई १५ महिनाभित्र लगाउनुपर्ने सम्पूर्ण खोप लगाइएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
गाउँपालिका अध्यक्ष तथा पालिका स्तरीय खोप समन्वय समिति संयोजक प्रकाश विष्टको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले खोप सेवा बालबालिकाको स्वास्थ्य अधिकारसँग जोडिएको अत्यन्त महत्वपूर्ण विषय भएको बताए । उनले गाउँपालिकाले सबै वडामा प्रभावकारी रुपमा खोप सेवा पुर्याई राष्ट्रिय मापदण्ड अनुसारको कार्य सम्पन्न गरेकोमा प्रशंसा व्यक्त गर्दै यस्तो उपलब्धि सामूहिक प्रयासको परिणाम भएको उल्लेख गरे । आगामी दिनमा अन्य स्वास्थ्य कार्यक्रमहरूमा पनि यस्तै प्रकारको समन्वय र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
त्यसैगरी गाउँपालिका अध्यक्ष प्रकाश विष्टले पूर्ण खोप सुनिश्चितता घोषणा कुनै एक व्यक्ति वा संस्थाको प्रयासको परिणाम नभई सम्पूर्ण समुदाय,स्वास्थ्यकर्मी,महिला स्वास्थ्य स्वयंसेविका,अभिभावक तथा सरोकारवाला निकायहरूको साझा मेहनत,समर्पण र प्रतिबद्धताको प्रतिफल भएको बताए ।
त्यस्तै,उनले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई विशेष सम्मान व्यक्त गर्दै गाउँका टोल–टोल, बस्ती–बस्ती र घर–घरमा पुगेर स्वास्थ्य सचेतना फैलाउने तथा खोप अभियानलाई सफल बनाउन निरन्तर खटिने स्वयंसेविकाहरु समाजका मौन नायक भएको उल्लेख गरे । यस्तै,सम्पूर्ण स्वास्थ्यकर्मीहरुको पेशागत दक्षता,सेवाभाव र जिम्मेवारीबोधका कारण गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको उनको भनाई थियो ।
अध्यक्ष विष्टले पूर्ण खोप सुनिश्चितता घोषणा केवल औपचारिकता मात्र नभई बालबालिकाको सुरक्षित भविष्यप्रतिको सामूहिक प्रतिबद्धता भएको उल्लेख गर्दै स्वस्थ बालबालिका नै समृद्ध समाजका आधार भएको धारणा राखे । साथै स्थानीय सरकारले जनस्वास्थ्यको क्षेत्रमा प्रभावकारी सेवा प्रवाह,स्वास्थ्य संस्थाको सुदृढीकरण,स्वास्थ्यकर्मी तथा स्वयंसेविकाको क्षमता अभिवृद्धि र स्वास्थ्य पहुँच विस्तारका लागि निरन्तर प्रतिबद्ध रहने विश्वास व्यक्त गरे ।
कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन भानुज्योती वलीले खोप कार्यक्रमको महत्व तथा यसको दिगोपनाका विषयमा जानकारी दिएका थिए ।
सो अवसरमा गाउँपालिकाका नौ वटै वडालाई पूर्ण खोप सुनिश्चितताका प्रमाणपत्र प्रदान गरिएको थियो । साथै गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न महत्वपूर्ण योगदान पुर्याएको भन्दै लालमटिया स्वास्थ्य चौकी भालुबाङका खोप फोकल पर्सन मुना खड्का र देविकोट स्वास्थ्य इकाईका अहेब यज्ञबहादुर कार्कीलाई कदरपत्रसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा वडा नं।१ का वडा अध्यक्ष गेम बहादुर खड्का,वडा नं। ३ का वडा अध्यक्ष उमेश अधिकारी,वडा नं। ९ का अध्यक्ष रिमबहादुर सुनारी मगर,वडा सदस्यहरू मनबहादुर पुन,विष्णु पोख्रेल,सुन्दर शाही,राप्ती आधारभूत अस्पताल कालापानीका मेडिकल सुपरिटेन्डेन्ट एमडीजिपी डाक्टर सुशील केसी,शिक्षा, युवा तथा खेलकुद शाखाकी देवी मल्ल लगायत विभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधि,स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो ।
