आलोक भाबुक भुकम्प आइतबार, साउन २४, २०८३

दाङ । भू-संरक्षण दिवसको अवसरमा देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ मलमलामा बाँस रोपण तथा अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

बुढीखोला भूमि अधिकार कृषक समूहको आयोजनामा भएको कार्यक्रममा भू–क्षय नियन्त्रण, पहिरो रोकथाम,वातावरण संरक्षण तथा स्थानीय स्तरमा बाँस खेतीको प्रवर्द्धनका विषयमा छलफल गरिएको हो । बुढीखोला भूमि अधिकार कृषक समूह गढवा १ मलमलाका अध्यक्ष केशवबहादुर परियारको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा पहिरो तथा भू-क्षयको जोखिम रहेका क्षेत्रमा बाँसका बिरुवा रोपिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडाध्यक्ष बाबुराम अधिकारीले मानिसको जीवन माटोसँग प्रत्यक्ष रुपमा जोडिएको भन्दै भू संरक्षणलाई सबैले प्राथमिकतामा राख्नुपर्ने बताए । किसानको जीवन र जीविकोपार्जन जमिनमै निर्भर रहेको उल्लेख गर्दै उनले जन्मदेखि मृत्युसम्म मानिसको सम्बन्ध माटोसँगै रहने भएकाले यसको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताए ।

“जमिनमा आश्रित किसानले आफ्नो जमिनका लागि संघर्ष गर्दै आएका छन् । मानिसको जीवनको सुरुवातदेखि अन्त्यसम्म माटोसँग सम्बन्ध हुन्छ । त्यसैले माटो जोगाउन सकिएन भने हाम्रो भविष्य पनि सुरक्षित हुँदैन,” वडाध्यक्ष अधिकारीले भने । उनले भू-क्षय तथा पहिरो नियन्त्रणका लागि वृक्षरोपण प्रभावकारी उपाय भएको बताउँदै फलफूलका बिरुवासँगै बाँस रोप्नुपर्नेमा जोड दिए ।

बाँस बहुउपयोगी वनस्पति भएकाले वातावरण संरक्षणसँगै स्थानीय समुदायको आयआर्जनमा समेत योगदान पुर्‍याउन सक्ने उनको भनाइ थियो । “बाँस बहुउपयोगी वनस्पति हो । यसले माटो समातेर भू-क्षय कम गर्न सहयोग गर्छ । पहिरोको जोखिम भएका ठाउँमा बाँस रोप्न सके भू-संरक्षणमा महत्वपूर्ण योगदान पुग्छ,” अधिकारीले भने । उनले आफ्नो वडा भू संरक्षण तथा वातावरण संरक्षणका गतिविधिलाई निरन्तर प्राथमिकता दिँदै अघि बढिरहेको समेत बताए ।

कार्यक्रममा यूएन-ह्याबिट्याटका गोपाल विकले भू-संरक्षण दिवसको अवसर पारेर बाँस रोपण गरिएको जानकारी दिए । पहिरोको जोखिम भएका क्षेत्रमा बाँसले जमिनलाई समातेर माटो बग्ने तथा पहिरो जाने सम्भावना कम गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले त्यस्ता क्षेत्रमा बाँसलाई प्राथमिकता दिइएको उहाले बताए । विकका अनुसार बाँस छिटो बढ्ने र बहुउपयोगी वनस्पति भएकाले यसको संरक्षण तथा प्रवर्द्धनबाट वातावरणीय संरक्षणसँगै स्थानीय समुदायको आर्थिक अवस्थामा समेत सुधार ल्याउन सकिन्छ। “पहिरो जाने तथा भू-क्षयको जोखिम भएका स्थानमा बाँस रोप्दा त्यसले माटो समातेर जमिन संरक्षणमा सहयोग गर्छ । बाँसको बहुउपयोगितालाई हेरेर पनि यसको विस्तारमा प्राथमिकता दिन आवश्यक छ,” उनले भने ।

त्यस्तै,उनले भू-संरक्षणलाई केवल सरकारी निकायको जिम्मेवारीका रूपमा नलिई स्थानीय समुदाय, किसान समूह तथा सरोकारवाला सबैको सहभागितामा अघि बढाउनुपर्ने बताए । स्थानीय स्तरमा संरक्षणका गतिविधि सञ्चालन गर्दा त्यसको दीर्घकालीन प्रभावसमेत देखिने भएकाले समुदायलाई नै संरक्षण अभियानसँग जोड्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा सहभागीहरुले भू-क्षय,पहिरो तथा वातावरणीय जोखिम न्यूनीकरणका लागि वृक्षरोपणसँगै रोपिएका बिरुवाको संरक्षणमा पनि ध्यान दिनुपर्ने बताए । बिरुवा रोप्ने मात्र नभई त्यसलाई हुर्काउने र संरक्षण गर्ने जिम्मेवारी समुदायले लिन सके मात्रै भू संरक्षण अभियान प्रभावकारी हुनेमा उनिहरुको जोड थियो ।

त्यस्तै,भूमिहीन तथा बटैया किसानहरुको सुरक्षा सञ्जाल तथा हरित ग्रामीण नेपालको लागि भूसम्बन्ध समाधान सार्वजनिक जग्गा पुनः हरीतीकरण कार्यक्रम अन्तर्गत बुढीखोला मलमला भूमि अधिकार कृषक समूह गढवा गाउँपालिका वडा नम्बर १ ले २०८२ साल मंसिर २९ गते सम्झौता गरेको थियो । ४ बिघा क्षेत्रफलमा किसानहरुले विभिन्न किसिमका तरकारी बाली उत्पादनमा जुटिरहेका छन् । २९ घरधुरी लाभग्राही रहेको कार्यक्रममा सार्वजनिक जग्गाको पुनहरितीकरण कार्यक्रम अन्तर्गत जग्गा बाँजो नराखेर खेतीपाती गर्नका लागि किसानहरुलाई एकीकृत गरेर कार्यक्रम अगाडि बढाइएको हो ।

बुढीखोला भूमि अधिकार कृषक समूहकी सदस्य कमल परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण समूहकी सचिव रिता कुमालले गरेकि थिइन् । कार्यक्रममा स्थानीय किसान,समूहका सदस्य तथा विभिन्न सरोकारवालाको बाक्लो सहभागिता रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]