
Sdc
ksbus
Amb


दाङ । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी ले लमही अस्पताललाई थप सेवामैत्री, व्यवस्थित र नागरिकको भरोसाको केन्द्रका रूपमा विकास गर्न अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीलाई जिम्मेवार र संवेदनशील भएर काम गर्न निर्देशन दिएका छन् ।
आज लमही अस्पतालमा आयोजित बैठकलाई सम्बोधन गर्दै प्रमुख चौधरीले अस्पतालमा उपचारका लागि आउने प्रत्येक बिरामीले सहज, सरल र गुणस्तरीय सेवा पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । उनले अस्पताल केवल उपचार गर्ने थलो मात्र नभई नागरिकको आशा र विश्वासको केन्द्र भएकाले सेवा प्रवाहमा कुनै पनि कमजोरी हुन नहुने बताए ।
नगर प्रमुख चौधरीले पछिल्लो समय अस्पतालका विषयमा बाहिर विभिन्न किसिमका टीका–टिप्पणी आउने गरेको उल्लेख गर्दै त्यस्ता कुराबाट विचलित नभई आफ्नो जिम्मेवारीप्रति इमान्दार भएर काम गर्न कर्मचारीलाई आग्रह गरे । “हामीले आलोचनाभन्दा कामलाई प्राथमिकता दिनुपर्छ, राम्रो सेवा दिएपछि जनताले स्वतः अनुभूति गर्नेछन्,” उनले भने ।
त्यस्तै,उनले लमही अस्पतालले सीमित स्रोत–साधनका बाबजुद नागरिकलाई निरन्तर स्वास्थ्य सेवा प्रदान गर्दै आएको भन्दै अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको योगदानको प्रशंसा समेत गरे । पछिल्ला वर्षहरुमा अस्पतालप्रति नागरिकको भरोसा बढ्दै गएको र सेवा विस्तारसँगै बिरामीको चाप समेत बढिरहेको उल्लेख गर्दै उनले अस्पताललाई थप प्रभावकारी बनाउन नगरपालिका प्रतिबद्ध रहेको धारणा राखे ।
कार्यक्रममा लमही नगरपालिकाका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीलाई स्वागत गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत केसीले स्वास्थ्य क्षेत्र नागरिकसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र भएकाले अस्पतालको व्यवस्थापन, सेवा गुणस्तर र प्रशासनिक सुधारमा आफूले विशेष ध्यान दिने बताए ।
