
ksbus
Amb
Sdc


दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मोतिपुरमा रहेको राप्ती लाइफ केयर अस्पतालले महिलाहरुका लागि निःशुल्क पाठेघर तथा पेट सम्बन्धी एक दिने स्वास्थ्य शिविर गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका–१९ को आयोजना तथा राप्ती लाइफ केयर अस्पतालको प्राविधिक सहयोगमा तुलसीपुर–१९ तोप्पापानी स्वास्थ्यचौकीमा शनिबार एक कार्यक्रमको आयोजना गरी निःशुल्क स्वास्थ्य विशिर सञ्चालन गरेको हो ।
तुलसीपुर–१९ का अध्यक्ष प्रेमनाथ योगिको अध्यक्षता तथा तुलसीपुर उपहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यता एवम् अस्पतालका अध्यक्ष हरिप्रसाद रिजाल र अस्पतालका निर्देशक दोर्ण ओलीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
त्यस्तै,सो अवसरमा प्रमुख अतिथि नगर प्रमुख खड्काले महिलाहरुलाई लक्षित गरेर पालिकाले यस भन्दा अघि पनि विभिन्न कार्यक्रमहरु गरेको बताए । उनले शिविरमा सहभागि महिलाहरुलाई रोग लुकाएर बस्नु भन्दा पाठेघरलाई कसरी जोगाउने भन्ने कुरामा ध्यान दिन आग्र गरे । प्राय महिलाहरुमा पाठेघर खस्ने समस्या देखा पर्ने गरेको बताए । उनले महिलाहरुलाई आफुमा भएको समस्यालाई नलुकाएर समयमै उपचार गर्न सुझाव दिए ।
विशिष्ट अतिथि रिजालले २१औँ शताब्दीमा आइपुग्दा पनि समाज पूर्ण रुपमा स्वास्थ्यमा सचेत हुन नसकेको बताए । विशेषगरी धेरै दिदीबहिनीहरुले लाज वा संकोचका कारण समयमै उपचार नगरी रोग लुकाएर बस्दा मृत्युजस्तो गम्भीर अवस्थासँग संघर्ष गर्नुपरेको उनको भनाई छ ।
साथै उनले अस्पताल र तुलसीपुर उपमहानगरपालिका–१९ बीच भएको सम्झौता अनुसार वडाका नागरिकहरूलाई अस्पतालका विभिन्न सेवामा १० देखि २५ प्रतिशतसम्म छुट प्रदान गरिने घोषणा पनि गरे । आर्थिक अवस्था कमजोर भएका नागरिकहरुलाई निःशुल्क रुपमा उपचार सेवा प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । वडा अध्यक्ष योगीले ग्रामीण भेगका महिलाईहरुलाई लक्षित गरेर कार्यक्रमको आयोजना गरेको बताए । उनले डाक्टर भगवान सरह भएकाले आफुमा भएको समस्या नलुकाइन ढुक्क भएर सेवा लिन आग्रह गरे ।
शिविरमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. विनोद सिंहले पाठेघरको मुखमा हुने समस्याहरूको पहिचान गरी समस्या देखिएका महिलाहरुलाई परामर्श दिएको बताए । उनले भिआइए प्रविधिमार्फत चेकजाँच गर्दा रिपोर्ट पोजेटिभ देखिएका महिलाहरुलाई थप उपचारका लागि अस्पतालमा बोलाई थर्मोकोआगुलेसन विधिबाट उपचार गरिने जानकारी दिए । यस्तै शिविरमा डा. रितेश शर्माले पेट दुख्ने, टाउको दुख्ने, ज्वरो, खोकी, प्रेसर, सुगर तथा हाडजोर्नी सम्बन्धी रोगहरुको जाँच तथा परामर्श सेवा प्रदान गरेका हुन् ।
नर्सिङ इन्चार्ज सरु चैधरीले शिविरमा उपस्थित महिला दिदिबहीनीहरुलाई स्तन क्यान्सर, पाठेघरको क्यान्सरबाट कसरी बच्ने भन्ने बारे परामर्श गरे । शिविरमा २ सय ५० जनाभन्दा धेरैको चेकजाच गरिएको थियो । प्राय महिलाहरुमा पाठेघरको समस्या देखा परेको अस्पतालले जनाएको छ ।
समस्या देखिएका विरामीहरुलाई निःशुल्क औषधि वितरण पनि गरिएको थियो । शिविरमा अस्पतालका इमरजेन्सी इन्चार्ज तुलराज बराल, फार्मेसीका स्टाफ विष्णु वली,इमरजेन्सीका स्टाफ माया चौधरी लगाएतको उपस्थिती रहेको थियो । वडा सदस्य रेवति विकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण वडा सदस्य राम बहादुर पौडेल गरेका थिए ।
