
ksbl-7
Pbu
Csbg-7
Usbl-7
Gsbg-3
Gsbr-6
Jsbg-7
Rksr-7
Jsbr-3
Msbg-2


दाङ । दाङ क्षेत्र नम्बर १ को समग्र विकासका लागि रुपान्तरणको एजेन्डा अघि सार्दै प्रकाश शाही र संघीय सांसद देवराज पाठकबीच भेटवार्ता तथा भएको छ ।
दाङ क्षेत्र नम्बर १ को समग्र विकासलाई केन्द्रमा राख्दै देशभक्त युवा अभियान तथा धानखोला– लमही चार लेन सडक संघर्ष समितिका संयोजक प्रकाश शाही नेतृत्वको टोलीले प्रतिनिधिसभा सदस्य पाठकसँग महत्वपूर्ण भेटवार्ता गरेको हुन्।
उक्त भेटघाटमा क्षेत्रको दीर्घकालीन विकास, आधारभूत सेवा सुधार तथा जनताले भोगिरहेका विविध समस्याहरुको समाधानका विषयमा गहन छलफल भएको थियो । टोलीले हालका प्रधानमन्त्री बालेन्द्र शाह तथा लुम्बिनी प्रदेशका सांसदहरुसँग समेत समन्वय गरी यी विषयहरु अघि बढाउन पहल गर्न सांसद पाठकलाई आग्रह गरेको जनाएको छ ।
छलफलका क्रममा देउखुरी क्षेत्रलाई लुम्बिनी प्रदेशको राजधानीको रुपमा अझ व्यवस्थित बनाउन चार/छ लेन फराकिलो सडक निर्माणको आवश्यकता औंल्याइएको थियो । धानखोला – लमही ४ लेन सडक,कालाकाटे – नेपालगन्ज जोड्ने हुलाकी राजमार्ग निर्माण विषय बारे जोडदार माग गरिएकाे थियाे ।
त्यस्तै,दाङ,देउखुरी,प्युठान,अर्घाखाँची,बाँके र रोल्पा लगायतका जिल्लालाई सेवा दिने गरी अत्याधुनिक सार्वजनिक अस्पताल (ट्रमा सेन्टर) स्थापना गर्नुपर्ने विषय पनि जोडदार रुपमा उठाइएको थियो । त्यसैगरी,सुकुम्बासी तथा भूमिहीन समस्या समाधान,शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, बढ्दो लागूऔषध दुर्व्यसन नियन्त्रण,तथा समाजमा देखिएका विकृति न्यूनीकरणका उपायहरुबारे समेत गम्भीर छलफल भएको थियो।
त्यसैगरी दाङका नाका तथा खोला आसपासका क्षेत्रहरूमा अझै पनि विद्युत् र सञ्चार सेवाको पहुँच कमजोर रहेको विषय विशेष रूपमा उठाइएको थियो । ती क्षेत्रका जनताले आधारभूत सेवा नपाउँदा दैनिक जीवन कष्टकर बनेको उल्लेख गर्दै विद्युत् विस्तार, नेटवर्क सुदृढीकरण तथा सञ्चार सेवा प्रभावकारी बनाउनेतर्फ तत्काल पहल गर्न आग्रह गरिएको छ ।
खानेपानी,सञ्चार पहुँच,सीमा नाकामा जनताले भोगिरहेका समस्या समाधान,सुशासन प्रवर्द्धन, तथा सार्वजनिक निकायलाई थप चुस्त बनाउने विषय पनि प्राथमिकतामा राखिएको थियो । साथै, सडक,बिजुली,सिँचाइ,पुल लगायत पूर्वाधार विकासलाई आधुनिक र दिगो बनाउँदै कृषि क्षेत्रको व्यवसायीकरण र युवालाई रोजगारीमुखी बनाउने पहलमा जोड दिइएको छ ।
शाही लामो समयदेखि सडक विस्तार, पूर्वाधार विकास र जनअधिकारका सवालमा निरन्तर आवाज उठाउँदै आएका छन् । विशेषगरी धानखोला-लमही चार लेन सडक संघर्ष समितिका संयोजकसमेत रहेका शाहीले सो सडकखण्डलाई दुई लेनमा मात्र सीमित राख्ने तयारीको कडा विरोध गर्दै आएका छन् । उनले यो क्षेत्र लुम्बिनी प्रदेशको राजधानी भएकाले यहाँको सडक ४ देखि ६ लेनको हुनुपर्ने माग राख्दै आन्दोलनका कार्यक्रमहरु समेत घोषणा गरेका थिए । शाही विद्यार्थी राजनीतिदेखि नै सामाजिक न्याय र विकासका मुद्दामा सक्रिय रहँदै आएका छन् ।
भेटवार्ता अन्त्यमा सहभागीहरुले दाङ क्षेत्र नम्बर १ को सन्तुलित र दिगो विकासका लागि समन्वयात्मक ढंगले अघि बढ्नुपर्नेमा एकमत व्यक्त गरेका थिए । उक्त भेटवार्तामा धानखोला –लमही चार लेन सडक संघर्ष समितिका संयोजक प्रकाश शाही,सांसद देवराज पाठक,युवा नेता कल्याण अधिकारी,लोकेश जोशी,जगदिश गिरी लगायतको सहभागिता रहेको थियो ।
