
Ggp
Rgp
Rgp
lnp
Lnp
Asb
Usb
Rgp
ksb
Dus
Rgp
Ggp
Sgp
Jns
Lks

lms

दाङ । देउखुरीको लमही नगरपालिका पशु उपशाखा कार्यालय बिहीबार आजदेखि औपचारिक रुपमा संचालनमा आएको छ ।
सो कार्यालयको उद्घाटन लमही नगरपालिका प्रमुख जोगराज चौधरीले गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले पशुपालन क्षेत्र नगरपालिकाको आर्थिक विकासको प्रमुख आधार भएको बताउँदै अब कृषकले आवश्यक सेवा स्थानीय तहमै सहज रूपमा पाउने विश्वास व्यक्त गरे । उनले पशु उपचार,खोप,परामर्श तथा प्राविधिक सहयोगमार्फत कृषकको आयस्तर बढाउन नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गरे ।
त्यसैगरी उपप्रमुख लक्ष्मी योगीले महिलाहरुको सहभागिता बढ्दै गएको पशुपालन व्यवसायलाई थप प्रोत्साहन गर्न नगरपालिका विभिन्न कार्यक्रम ल्याउने जानकारी दिइन् । उनले कृषकको समस्या समाधानमा यो कार्यालय महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरिन् । स्थानीय किसानलाई आधुनिक पशुपालन प्रविधि अपनाउन आग्रह गर्दै यसले रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले लमही नगरपालिकाको पशु उपशाखा कार्यालय सञ्चालनमा आएसँगै पशुपालक किसानलाई सेवा लिन सहज हुने बताएका छन् । उनले अब पशु स्वास्थ्य,उपचार,खोप, प्राविधिक परामर्श तथा पशुजन्य उत्पादनको प्रवर्द्धन सम्बन्धी सेवा एकै ठाउँबाट उपलब्ध हुने उल्लेख गरे ।
त्यस्तै उनले लमही नगरपालिकामा कृषिसँगै पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउँदै किसानको आयआर्जन बढाउने लक्ष्यसहित यो कार्यालय स्थापना गरिएको जानकारी दिए । पशुपालन व्यवसायलाई व्यवस्थित र व्यावसायिक बनाउन नगरपालिकाले आवश्यक बजेट, जनशक्ति तथा प्रविधिको व्यवस्था गर्दै जाने प्रतिबद्धता समेत उनले व्यक्त गरे । साथै सेवा लिन आउने सबैलाई सहज, पारदर्शी र प्रभावकारी ढंगले सेवा प्रदान गर्न कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।
वडा नम्बर ३ का वडा अध्यक्ष मनोज कुमार चौधरीले लामो समयदेखिको माग पूरा भएको भन्दै अब पशु सम्बन्धी सेवाका लागि टाढा जानु नपर्ने अवस्था आएको बताए । उनले यस कार्यालयले गाउँस्तरमै सेवा पुर्याएर कृषकको समय र खर्च दुवै बचत हुने बताए ।
कार्यक्रममा बोल्दै कृषक सुरेन्द्र खड्काले पशु उपचार र प्राविधिक सल्लाहका लागि धेरै समस्या भोग्नुपरेको स्मरण गर्दै अब उपशाखा कार्यालय संचालनमा आएपछि पशुपालन पेशा थप व्यवस्थित र व्यावसायिक बन्ने आशा व्यक्त गरे ।
नयाँ पशु उपशाखा कार्यालय संचालनमा आएसँगै लमही नगरपालिकाका कृषकलाई पशु स्वास्थ्य, उत्पादन वृद्धि तथा व्यवसायिकरणमा प्रत्यक्ष सहयोग पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेल,वडा नम्बर ५ क वडा अध्यक्ष ओम प्रसाद सुवेदी,कार्यपालिका सदस्य तुलसा विक,देवा परियार,सुनिता चौधरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको पशु शाखा प्रमुख शिवराज न्यौपानेले सहजीकरण गरेका थिए ।
