
Snmbs
Snmbs
Amb
Sdc
snmbs
Dbc
dpm
Mbf
Gesld
rgs
sjnsplk
Ges
Pbu
Dpm
pvg


दाङ । देउखुरी उद्योग वाणिज्य संघ लमहीले भारतका पुर्ब साँसद (राज्य सभा) तथा व्यापार मण्डल उत्तर प्रदेश भारतका अध्यक्ष बनवारीलाल कंछललाई बुधबार लमहीमा भव्य स्वागत सम्मान गरेको छ ।
संघले दुई देशबीचको आपसी व्यापारिक,सामाजिक र सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले कार्यक्रम गरिएको जनाएको छ । देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष कमलजंग सिंह ठकुरीको अध्यक्षता तथा व्यापार मण्डल उत्तर प्रदेश भारतका अध्यक्ष तथा पुर्ब साँसद (राज्य सभा) बनवारीलाल कंछलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
संघका अध्यक्ष ठकुरीले प्रमुख अतिथी कंछललाई स्वागत गर्दै नेपाल–भारतबीचको पारस्परिक व्यापारिक सम्बन्धलाई सहज बनाउनुपर्नेमा जोड दिए । कार्यक्रमको अबसरमा संघका अध्यक्ष कमलजंग सिंह ठकुरीले तीन बुँदे ज्ञापनपत्र प्रमुख अतिथी कंछललाई हस्तान्तरण गरे । ज्ञापनपत्रमा नेपाल र भारतबीचको व्यापारलाई सहज र पारदर्शी बनाउनका लागि २५ लाखसम्मको भन्सार दरमा आयात सुविधा दिनुपर्ने, भारतका अस्पतालहरूमा उपचार गर्न आउने नेपाली बिरामीलाई कम्तीमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिनुपर्ने, र भारत सरकारको सहयोगमा संघका लागि एउटा एम्बुलेन्स उपलब्ध गराइदिनुपर्ने माग उल्लेख गरिएको थियो ।
त्यस्तै ज्ञापनपत्र बुझ्दै प्रमुख अतिथी बनवारीलाल कंछलले दुई देशबीचको सम्बन्ध केवल सीमामा सीमित नभई जनस्तरसम्म पुग्नुपर्ने बताए । उनले नेपाल–भारतबीचको सम्बन्ध इतिहासकै गहिरो नातामा आधारित रहेको भन्दै यसलाई अझ मजबुत बनाउन आफू सदैव प्रतिबद्ध रहने बताए । उनका अनुसार, नेपाल र भारतबीच व्यापारका धेरै सम्भावना भए पनि नाकाहरू बन्द हुँदा दुबै देशका व्यापारीले कठिनाइ भोग्नुपरेको उल्लेख गरे । उनले कोइलाबास नाका तत्काल खोल्नुपर्ने र दुई देशबीचको व्यापारिक आवागमनलाई सहज बनाउनुपर्नेमा जोड दिए ।
त्यस्तै कंछलले नेपाललाई “सानो होइन, विशाल र गौरवशाली देश”भन्दै बुद्ध जन्मेको देश र पशुपतिनाथ भएको भूमिको बखान गरे । उनले भने, “नेपाल आफैंमा अद्भुत, सुन्दर र सम्भावनायुक्त देश हो । यहाँको शान्त वातावरण र सुमधुर सम्बन्धले हामीलाई अझ नजिक ल्याउँछ ।” उनले भारतीय अस्पतालहरूमा उपचारका लागि जाने नेपाली बिरामीलाई १५ देखि २५ प्रतिशतसम्म छुटको व्यवस्था गराउने प्रतिबद्धता व्यक्त गरे ।
संघका वरिष्ठ उपाध्यक्ष केशवराज पोखरेलले स्वागत मन्तव्याट शुरु भएको कार्यक्रममा गोरक्ष लमही लाइन्स क्लबका अध्यक्ष शेषदत्त चौधरी, संघका जिल्ला अध्यक्ष वसन्त जोशी, व्यापार मण्डल तुलसीपुर भारतका अध्यक्ष श्यामबिहारी अग्रहरी, संघका पूर्व अध्यक्ष लिलाराम खनाल लगायतले पनि मन्तव्य व्यक्त गर्दै आपसी व्यापारिक, सामाजिक तथा सांस्कृतिक आदान–प्रदानले दुवै देशका जनताबीच विश्वास र सहयोगको सम्बन्ध बलियो बनाउने बताए । कार्यक्रमपछि अतिथिहरूको सम्मानमा सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो, जसमा स्थानीय कलाकारहरूले देउखुरी क्षेत्रका परम्परागत गीत–नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागी भारतीय पाहुनाले नेपाली सांस्कृतिक कार्यक्रमको खुलेर प्रशंसा गर्दै लमहीको आतिथ्य र मैत्रीपूर्ण वातावरणको प्रशंसा गरे ।
सामान्य तर आत्मीय माहोलमा सम्पन्न उक्त कार्यक्रममा अन्त्यमा अध्यक्ष कमलजंग सिंह ठकुरीले सबै पाहुना, अतिथि र सहभागीप्रति धन्यवाद ज्ञापन गर्दै नेपाल–भारतबीचको सम्बन्ध अझ मजबुत बनाउने प्रतिबद्धता जनाएका थिए । कार्यक्रमको सञ्चालन संघका महासचिव हरि बहादुर थापाले गरेका थिए ।![]()
