
Ggp
Dus
Rgp
Rgp
Lnp
Jns
Rgp
Lks
Sgp
lnp
Asb
Usb
Ggp
Rgp
ksb

lms

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिनदेखि ८ दिन अर्थात् अष्टमीसम्म मनाइने गाईजात्रा पर्वको पहिलो दिनको जात्रा आज विधिपूर्वक भव्य साथ मनाइएको छ ।
उपत्यकालगायत देशभरका मुख्य सहरमा दिवङ्गत भएका आफन्तको सम्झनामा विभिन्न कार्यक्रम गरी पहिलो दिनको गाईजात्रा मनाइएको हो। गाईजात्राको भोलिपल्ट बौद्धमा र त्यसको पर्सिपल्ट जयवागेश्वरीमा रोपाइँ जात्रा मनाउने गरिन्छ । गाईजात्राको भोलिपल्ट जयवागेश्वरीमा खड्ग जात्रा र अन्य स्थानमा विभिन्न नामले गाईजात्रा मनाउने गरिन्छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने यो पर्व मल्लकालदेखि सुरु भएको हो ।
त्यस्तै एक वर्षदेखि दिवङ्गत भएका आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी परिक्रमा गराएर दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरी मनाइएको छ । गाईजात्राका अवसरमा उपत्यकाका विभिन्न स्थानमा सांस्कृतिक झाँकी र साजसज्जाका साथ गाईको भेषमा बालबालिकाको र्याली निकालिएको थियो ।
यस्तै भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ मनाइन्छ । आठ दिनसम्म गाईजात्रा, खड्ग जात्रा, रोपाइँजात्रा लगायत नाममा गाईजात्रा सप्ताहव्यापी रूपमा मनाउने परम्परा रही आएको छ । मृत्यु भएकाको सम्झनामा नगर परिक्रमा गर्नाले गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
राजा प्रताप मल्लले पुत्र शोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएको जानकारहरू बताउँछन् ।
यतिले पनि रानीको मन शान्त हुन नसकेपछि विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप जात्राको प्रचलन चलेको जनश्रुतिसमेत छ । सोही समयदेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा हाल पनि कायमै छ । देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनकता हुन्छ । पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छन् ।
त्यस्तै जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान,चामलको नमुना, काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तकहरू विशेष दर्शनीय मानिन्छन् । आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना गरिन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित हुने गरेको छ ।
यस्तै यो पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा र पोखरा लगायतका सहरमा पनि मनाइन्छ । गाईजात्राका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको थियो ।रासस
