
Usb
Sgp
Ggp
Rgp
Asb
Rgp
lnp
Jns
Rgp
ksb
Rgp
Dus
Lnp
Ggp
Lks

lms

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर –४,जनकपुरकी ४६ वर्षीया शान्ती चौधरी दुई साताअघि घर निर्माणका क्रममा छतबाट खस्दा मेरुदण्ड भाँचियो।
घटनापछि परिवारले उनलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पुर्याए । तर आर्थिक अवस्था कमजोर भएकाले सल्यक्रियाकाे लागि अस्पतालले भनेजति रकम जुटाउन नसक्दा उपचारमा समस्या आयो । त्यसपछि परिवारले राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टलाई फोनमार्फत सहयोगका लागि अनुरोध गरे । अध्यक्ष विष्टले तत्कालै बुटवलका प्रख्यात हाडजोर्नी,नसा तथा बाथरोग विशेषज्ञ डा.राजकृष्ण श्रेष्ठलाई सम्पर्क गरी उपचारको व्यवस्था मिलाइदिन आग्रह गरे ।
डा. श्रेष्ठसहितको टोलीले सरकारी अस्पतालको भन्दा न्यून शुल्कमा एडमन्ड सिटी अस्पताल जितगढीमा सफल शल्यक्रिया गरेपछि शान्तीको स्वास्थ्यमा अहिले उल्लेखनीय सुधार आएको छ । दुबै खुट्टा चलाउन नसक्ने अवस्थामा रहेकी उहाँको अहिले खुट्टामा शक्ति फर्कने प्रक्रिया जारी रहेको डा. श्रेष्ठले जानकारी दिए ।
शल्यक्रियापछि शान्तीलाई गाउँ नजिकैको राप्ती आधारभूत अस्पतालमा भर्ना गरी पोस्ट–अपरेटिभ हेरचाह दिइँदैछ । अस्पतालका चिकित्सकहरूले डा. श्रेष्ठसँग नियमित सम्पर्क राख्दै गुणस्तरीय सेवा प्रदान गरिरहेका छन् ।
शान्ती मात्र होइन, राप्ती गाउँपालिका–७ बड्का सिसहनियाँका ४७ वर्षीय हरिकराम चौधरी पनि साउन २५ गते आफ्नै घरको छत ढलान गर्ने क्रममा खस्दा गम्भीर घाइते भए । उनको पनि बुटवलमा टाउकोको सफल शल्यक्रियापछि हाल गाउँकै राप्ती आधारभूत अस्पतालमा उपचार भइरहेको छ।
अस्पतालका चिकित्सकहरुका अनुसार हाल त्यहाँ यस्तै जटिल प्रकृतिका तीन जना बिरामीको उपचार भइरहेको छ । घर नजिकै स्वास्थ्य सेवा उपलब्ध हुँदा बिरामीका आफन्तलाई रेखदेख गर्न सहज भएको छ भने कमजोर आर्थिक अवस्थाका परिवारलाई ठूलो राहत पुगेको छ ।
पहिले गम्भीर बिरामी परे बुटवल, भैरहवा वा नेपालगन्ज जानुपर्ने बाध्यता भए पनि अहिले गाउँमै गुणस्तरीय उपचार उपलब्ध हुँदा ठूलो राहतको अनुभूति गरिरहेकाे बिरामीहरुले बताएका छन् ।
डा. राजकृष्ण श्रेष्ठ हरेक महिनाको चौथो शुक्रबार राप्ती आधारभूत अस्पतालमा पुगेर निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आउनुभएको छ । उनको निरन्तर सेवाभावले यहाँका बासिन्दामा स्वास्थ्य उपचारप्रति विश्वास र आशा जगाएको स्थानीयवासीहरुले बताएका छन् ।
