
Rgp
Usb
Dus
Rgp
Ggp
Lks
Dbs
lnp
Pbu
ksb
Rgp
Sgp
Rgp
Asb
Lnp
Ggp
Jns


दाङ । क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी नेपाल) ले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । साथै आगामी आर्थिक वर्ष २०८२/०८३ को प्रस्तावित बजेट र कार्यक्रम सार्वजनिक गरिएको छ ।
कार्यक्रम दाङको लमही स्थित होटल ग्रिन लुम्बिनीमा सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले गरेका थिए । उनले सामाजिक उत्तरदायित्व सहितको संस्थागत पारदर्शिता र उत्तरदायित्वको अभ्यासलाई सराहनीय भन्दै आगामी दिनमा यस्ता अभ्यासले स्थानीय विकास र जनविश्वास बृद्धि गर्न सहयोग पुग्ने बताए ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्षहरुको प्रतिनिधित्व गर्दै राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले सीपी नेपालले समुदायमै पुगेर समुदायकै सहभागितामा कार्यक्रम सञ्चालन गरेको र शिक्षासँगै उद्यमशिलतामुखी कार्यक्रम थप गर्न सके प्रभावकारिता अझ बढ्ने धारणा राखे ।
राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपति देवी यादवले विद्यालयको गुणस्तर सुधारका लागि अतिरिक्त कक्षा, पठनपाठन सामग्रीमा लगानी बढाउनुपर्नेमा जोड दिइन् ।
त्यसैगरी,वडाध्यक्ष लेखबहादुर थापाले सीपी नेपालले शिक्षा क्षेत्रमा गरेको लगानी अतुलनीय रहेको भन्दै स्थानीय सरकार र संघसंस्थाले वितरणमुखी कार्यक्रमलाई अन्त्य गरेर दीगो विकासमुखी योजना ल्याउनु पर्ने धारणा राखे। कार्यक्रममा बिभिन्न विद्यालयका प्रधानाध्यापकहरुले हालको परिवेश अनुसार बालमैत्री र प्रविधिमैत्री शिक्षामा लगानीको आवश्यकता औंल्याए।
सार्वजनिक प्रतिवेदन अनुसार, आर्थिक वर्ष २०८१/०८२ मा कुल ८ करोड १९ लाख ५३ हजार १०१ रुपैयाँको बजेट मध्ये ७ करोड ९६ लाख ८७ हजार ५७६ रुपैयाँ खर्च भएको छ। आगामी वर्ष २०८२/०८३ को अनुमानित बजेट ६ करोड ९४ लाख ३६ हजार ९७९ रुपैयाँ रहने उल्लेख गरिएको छ। २०६४ सालदेखि सीपी नेपालले दाङको गढवा, राजपुर र राप्ती गाउँपालिकामा शिक्षा,स्वास्थ्य र महिला सशक्तिकरणका क्षेत्रमा काम गर्दै आएको छ।
कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल,उपाध्यक्ष शारदा कुमारी चौधरी,राजपुर गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकी,राप्ती गाउँपालिका उपाध्यक्ष कमलापति चौधरी,गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल,इलाका प्रशासन कार्यालय लमहीका प्रतिनिधि,विभिन्न वडाका वडाध्यक्ष, सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक,शिक्षक,छात्रा, पत्रकार,संघसंस्था, आमा समूह तथा विद्यार्थीहरुको उपस्थिति थियो।
कार्यक्रम संस्थाकी बिद्यार्थी सशक्तिकरण संयोजक दिपा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने संस्थाका कार्यकारी निर्देशक दिनेश राज सापकोटाले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण महिला सशक्तिकरण संयोजक सरिता चौधरीले गरेकि थिइन् ।

