
Jns
Dbs
Rgp
Lks
Rgp
Asb
Ggp
Rgp
lnp
ksb
Dus
Lnp
Ggp
Sgp
Usb
Rgp
Pbu


दाङ । देउखुरीको राप्ती गाउँपालिकाले उद्यमशीलता प्रवर्द्धन,निजी क्षेत्रको भूमिका र रोजगारी नीतिका विषयमा रोजगार संवाद कार्यक्रम सम्पन्न गरेको छ।
गाउँपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा सोमबार सम्पन्न उक्त कार्यक्रममा उद्योगी,व्यवसायी, रोजगारदाता, सञ्चारकर्मी तथा सरोकारवाला निकायहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा स्थानीय उत्पादन,बजारीकरण,सीप विकास तथा व्यवसायीक तालिम,उद्यम स्थापना, सरकारी संयन्त्रको भूमिका,युवा रोजगारीको अवसर र चुनौतीलगायत विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले उद्यम क्षेत्रलाई देशको अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै युवालाई गाउँमै रोजगारीमा आबद्ध गराउने उद्देश्यले पालिकाले विभिन्न सीपमूलक कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी दिए ।
उनले भने,“गाउँमा बस्ने हरेक युवामा केही न केही प्रतिभा र सम्भावना हुन्छ । राज्यको जिम्मेवारी भनेको तिनलाई प्रोत्साहन गर्ने,तालिम दिने र काममा जोड्ने हो। हामी यही आधारमा योजनाहरु अगाडि बढाइरहेका छौँ।”अध्यक्ष विष्टले स्वदेशमै केही गर्न चाहने युवाहरूका लागि स्थानीय स्तरमै रोजगारीको प्रशस्तै सम्भावना रहेको उल्लेख गर्दै त्यसका लागि निजी क्षेत्रको सहकार्य,युवाको सिर्जनशीलता तथा परिश्रमलाई संस्थागत गर्न राज्यले रोजगारमैत्री नीति अवलम्बन गर्नुपर्ने धारणा व्यक्त गरे ।
त्यस्तै उनले “राप्तीका युवा र महिला,उद्यमशीलता पहिला” कार्यक्रमअन्तर्गत सञ्चालित तालिमहरूबाट पालिकाभित्रै नेपाली कागज,कपडा,गार्मेन्ट,धूप उद्योग जस्ता उद्योगहरू स्थापना भइसकेको जानकारी दिँदै भने,“स्थानीय स्रोत र साधनको पहिचान गरेर उत्पादन र रोजगारीलाई जोड्न सकेमा गाउँमै बसेर पनि आत्मनिर्भर बन्न सकिन्छ। हाम्रो प्राथमिकता पनि यही हो।”उनले सरकार र निजी क्षेत्रका व्यवसायहरुबीच समन्वय र साझेदारी अपरिहार्य रहेको बताए ।
त्यस्तै,गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीले युवाहरुमा काम गर्ने इच्छाशक्ति भए अवसर आफैं सिर्जना गर्न सकिने धारणा राखिन् ।उनले भनिन्,“म पूर्व कम्लहरी, मजदुर र किसान पनि हुँ, तर आज जनप्रतिनिधिका रुपमा सेवा गरिरहेकी छु। काम गर्न इच्छाशक्ति चाहिन्छ, अवसरका लागि मात्र कुर्दा स्वदेशमै टिक्न गाह्रो हुन्छ।” उनले राज्यले बाटो देखाउने भएपनि काम गर्ने व्यक्ति आफैं भएको र उद्यमका लागि केही न केही लगानी गर्नुपर्ने धारणा राखिन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले सीमित स्रोत साधनका बाबजुद गाउँपालिकाले रोजगारी सिर्जनामा सक्रिय भूमिका निर्वाह गरिरहेको बताए । कार्यक्रममा सहभागी सरोकारवालाहरुले युवामैत्री नीति निर्माण,सीपको अभिवृद्धि,लगानीको प्रोत्साहन,उत्पादनको बजारीकरण,सहकार्य र अनुगमन संयन्त्रको सुदृढीकरण लगायत विषयमा विचार प्रस्तुत गरेका थिए । रोजगार सेवा केन्द्रका संयोजक मुमाराम भुसालले पालिकाले सूचना,सीप विकास तथा व्यवसायीक तालिम,समन्वय र सहजीकरण मार्फत रोजगारमैत्री वातावरण निर्माणमा जोड दिएको बताए । कार्यक्रमको सहजीकरण रोजगार सहायक सीता पौडेलले गरेकि थिइन् ।

