
Rgp
Jns
Rgp
Pbu
lnp
Ggp
Dbs
Sgp
Ggp
Lnp
Asb
Rgp
Dus
ksb
Lks
Usb
Rgp


दाङ । लमही नगरपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०७८ देखि २०८२ सम्म सम्पन्न गरेका न्यायिक कार्यहरुको विवरण सार्वजनिक गरेको छ । बुधबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले आफ्नो कार्य सम्पादनका गतिविधिहरु पत्रकारहरु माझ प्रस्तुत गरेको हो ।
पत्रकार सम्मेलनमा लमही नगरपालिकाका उपप्रमुख एवं न्यायिक समिति संयोजक लक्ष्मी योगीले न्यायिक समितिको भूमिकाबारे प्रकाश पार्दै पछिल्ला तीन वर्षमा विभिन्न सामाजिक, पारिवारिक तथा सानातिना विवादहरू स्थानीय तहमै समाधान गर्दै आएको जानकारी दिइन् ।
त्यस्तै उनले भनिन्,“स्थानीय तहको न्यायिक समितिमार्फत सहज, छिटो र सुलभ रूपमा विवाद समाधान गर्न सकिन्छ भन्ने सन्देश हामीले दिन सफल भएका छौं ।” योगीका अनुसार समितिले मेलमिलाप, मध्यस्थता तथा छलफलको माध्यमबाट हरेक वर्ष ८५ प्रतिशतभन्दा बढी उजुरीहरु सफलतापूर्वक टुंग्याएको छ ।
लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले कानूनी अधिकृतको अभावका बाबजुद पनि न्यायिक समितिले उल्लेखनीय कार्य सम्पादन गरेको बताएका छन । पत्रकार सम्मेलनमा बोल्दै उनले न्यायिक समिति संयोजक, दुई जना सदस्य तथा एक जना बरिष्ठ अधिवक्ताको सहयोगमा न्याय सम्पादनका कार्य प्रभावकारीरूपमा अगाडि बढाइएको जानकारी दिए ।
“हामीले न्याय पाएनौं भन्ने गुनासो अहिलेसम्म आएको छैन,” देवकोटाले बताए, “न्यायिक समितिमा आएका सबै पीडित र पीडकबीच अन्त्यमा आपसी सहमति गराएर विवाद टुंग्याउने कार्य भइरहेको छ।” उनले भने, “न्यायिक सम्पादनमा लमही नगरपालिका अब्बल नै छ।”
प्रमुख प्रशासकीय अधिकृत देवकोटाको भनाइले कानूनी संरचना अपूर्ण भए पनि स्थानीय तहमा समन्वय, सक्रियता र सेवाप्रति प्रतिवद्धता भए प्रभावकारी न्याय सम्पादन सम्भव छ भन्ने देखाएको छ । न्यायिक पहुँच थप प्रभावकारी बनाउने, कानूनी साक्षरता अभिवृद्धि गर्ने र जनताको विश्वास जित्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
लमही न्यायिक समितिमा बढ्दो उजुरी, मेलमिलापमै धेरैजसो विवाद समाधान
लमही नगरपालिकाको न्यायिक समितिमा वर्षेनि उजुरीको संख्या बढ्दै गएको छ । समितिले दिएको तथ्यांकअनुसार पछिल्लो चार आर्थिक वर्षमा मात्रै करिब १७३ वटा मुद्दा दर्ता भएका छन्, जसमा अधिकांश विवाद मेलमिलापमार्फत समाधान भएका छन । आर्थिक वर्ष २०७८/७९ मा कुल ४० वटा उजुरी दर्ता भएका थिए । तीमध्ये १९ वटा मुद्दा मेलमिलापमार्फत टुंगिएका छन् भने १५ वटा खारेज भएका थिए । उजुरीकर्ताले २ वटा निवेदन फिर्ता लिएका थिए । सो वर्षमा न्यायिक समितिले करिब ८५ प्रतिशत काम सम्पन्न गरेको जनाएको छ।
त्यसपछिको आर्थिक वर्ष २०७९/८० मा ३८ वटा उजुरी दर्ता भएका थिए । तीमध्ये १८ वटा विवाद मेलमिलाप भई टुंगिएको छ भने १२ वटा मुद्दा खारेज (डिसमिस) भएका थिए । आर्थिक वर्ष २०८०/८१ मा ४४ वटा मुद्दा दर्ता भएका थिए । यसमध्ये ३२ वटा मुद्दा छलफलमार्फत मेलमिलाप भएका थिए भने ४ वटा विवाद मात्र खारेज भएका थिए । समितिले सो वर्षमा ८२ प्रतिशत काम सम्पन्न गरेको जनाएको छ । नवीनतम तथ्यांक अनुसार, आर्थिक वर्ष २०८१/८२ मा ५२ वटा उजुरी दर्ता भएका छन् । तीमध्ये हालसम्म १८ वटा मुद्दा मेलमिलाप भएका छन् भने १४ वटा डिसमिस भएका छन । बाँकी २० वटा उजुरीमा छलफल जारी रहेको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।
यस्तै न्यायिक समितिमा घरायसी झगडा,पतिपत्नी बीचको सामान्य झगडा,सासु– बुहारीबीचको विवाद, बालबच्चाको पालनपोषण सम्बन्धी विवाद,सीमाना तथा बाटो,सिँचाइ,गोरेटो र बार लगाउने विषयमा देखिने समस्या,सामान्य कुटपिट, गालीगलौज,धम्की तथा डरत्रास दिने जस्ता उजुरीहरु आउने गरेका छन । स्थानीय तहमा न्यायिक समितिले साना विवादहरूलाई अदालतसम्म नपुग्ने गरी सामुदायिक समाधान खोज्ने अभ्यासको रुपमा काम गर्दै आएको छ । लमही नगरपालिकाको न्यायिक समितिले पछिल्ला वर्षहरुमा मेलमिलाप केन्द्रित कार्यशैली अपनाउँदै उल्लेखनीय परिणाम हासिल गरिरहेको देखिन्छ ।
