काठमाडौं । बैंकिङ कसुरको मुद्दामा जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
बर्दियाको गुलेरिया नगरपालिका–५ घर भएकी रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको माग बमोजिम पर्सा जिल्ला अदालतले १६ जेठमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । ‘उनी विरुद्ध बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी भएको छ । हामी कानूनी प्रक्रिया अघि बढाउँदैछौं।’ पर्सा प्रहरीका एक अधिकृतले भने । उनी विरुद्ध आशा कुमारी चौहानले बैंकिङ कसुरमा जाहेरी दिएकी थिइन् ।
यस्तै २ लाख ७५ हजार रुपैयाँ सापटी लगेको र लामो समयसम्म नतिरेपछि पटक–पटक माग्दा चेक दिएको तर रकम नभएको भन्दै चेक बाउन्स भएको उल्लेख चौहानले दिएको उजुरीमा छ । रायमाझीले एभरेष्ट बैंकको चेकमा २ लाख ७५ हजार रुपैयाा उल्लेख गरेर दिए पनि रकम पर्याप्त नभएको भन्दै चेक बाउन्स भएको थियो । बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएकी सांसद रायमाझीलाई सम्पर्क गर्न खोज्दा भने उनको मोबाइल नम्बरमा सम्पर्क हुन सकेन ।
यता, जनमत पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले भने उनको व्यक्तिगत लेनदेनको विषय भएकाले पार्टीमा यसबारे कुनै औपचारिक छलफल नभएको बताए । ‘ पक्राउ पुर्जी जारी भएको भन्ने सुनेका हौं । यो उहाँको व्यक्तिगत हरहिसाबको कुरा भयो । यसमा पार्टीको कुनै विषय जोडिएको छैन।’ यादवले भने । पक्राउ पुर्जी जारी भएकी रायमाझी समानुपातिकतर्फबाट सांसद बनेकी थिइन् ।
त्यस्तै यसअघि उनी जसपाबाट सांसद बनेकी थिइन् । उनी एमालेका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलका पालामा भौतिक पूर्वाधार विकास राज्य मन्त्री भएकी थिइन् । माओवादी केन्द्रका मुख्यमन्त्री कुलप्रसाद केसीको मन्त्रीपरिषद्मा उनी कृषि मन्त्री बनेकी थिइन् । अनलाइनखबर