Sidha Patra शनिबार, आषाढ ०६, २०८२

दाङ । लुम्बिनी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति सत्ता साझेदार दलहरु र प्रतिपक्षीबिच चर्को असन्तुष्टि बढेको छ ।

सरकारले घाटा बजेट र टुक्रे आयोजनालाई प्राथमिकता दिएको भन्दै चौतर्फी विरोध भएपछि शनिबारका लागि बोलाइएको प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । उपलब्ध स्रोतभन्दा करिब ७ अर्ब रुपैयाँ बढीको घाटा बजेट ल्याइएपछि यसको कार्यान्वयनमा चुनौती देखिने भन्दै सत्ता र प्रतिपक्षका सांसदहरूले असहमति जनाएका हुन् । सुरुमा दलहरूबिच करिब ३२ अर्बको हाराहारीमा घाटा नहुने गरी बजेट ल्याउने सहमति भए पनि अन्तिम समयमा केही मन्त्रीहरूको दबाबमा बजेटको आकार बढाइएको बताइएको छ ।

प्रमुख प्रतिपक्षी र सत्ता साझेदार दलकै विरोध

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेट संघीयताको मर्म र समग्र विकासको भावनाविपरीत रहेको आरोप लगाएको छ । कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले आवश्यकताभन्दा पनि निश्चित स्वार्थ समूहको दबाबमा बजेट निर्माण गरिएको बताए ।

सरकारलाई समर्थन दिएका दलहरूले पनि बजेटको आलोचना गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की सचेतक हेमा बेल्बासे केसीले बजेट वितरणमुखी भएको टिप्पणी गरिन् । ‘सांसदहरूले माग गरेका प्रदेश विकासका महत्त्वपूर्ण आयोजना कटौती गरी मन्त्रीहरूले आफ्ना कार्यकर्ता पाल्नका लागि बजेट ल्याए जस्तो देखियो,’ उनले भनिन् ।

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता धर्मबहादुर चौधरीले टुक्रे आयोजना वितरण गर्ने बजेटले प्रदेशको दिगो विकासमा योगदान नगर्ने बताए । उनले भने, ‘बजेटले केही सीमित नेताहरूलाई फाइदा पुर्‍याए पनि प्रदेशको मूलभूत विकासमा गम्भीर कमजोरी देखियो।’ माओवादी केन्द्रका मुख्य सचेतक इन्द्रजित थारूले पनि बजेटलाई ‘लक्ष्यहीन र गतिहीन’ भन्दै संसद् चलेपछि सशक्त विरोध गर्ने प्रतिक्रिया दिए ।

सरकारको प्रतिरक्षा

नेकपा एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बजेटको विस्तृत अध्ययन नगरी टिप्पणी गर्नु हतार हुने बताए । यद्यपि, एमालेबाटै भौतिक पूर्वाधार विकास मन्त्री बनेका भूमिश्वर ढकालले सुरुमा ३५ अर्बभित्रको बजेट ल्याउने तयारी भए पनि पछि आकार बढेको स्वीकार गरे । उनले बजेटले भूगोल, जनसंख्या र आयोजनाको प्राथमिकतालाई ध्यान दिएको दाबी गरे । बजेटलाई लिएर देखिएको विवादकै कारण असार १ गते पनि प्रदेश सभा बैठक निर्धारित समयभन्दा तीन घण्टा ढिलो सुरु भएको थियो ।

बैठक स्थगित, समस्या उही

बजेटमाथिको चर्को विरोध हुने देखेपछि सरकारको आग्रहमा सभामुख तुलसीराम घर्तीले प्रदेश सभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेका छन् । प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले सरकारको आग्रहमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर यो निर्णय लिइएको जानकारी दिए ।

त्यस्तै बैठक स्थगित भए पनि समस्या समाधान नहुने विपक्षीहरूको भनाइ छ । नागरिक उन्मुक्तिका नेता चौधरीले भने, ‘सदन जहिले चले पनि हाम्रो विरोध कायमै रहन्छ ।’ यस विषयमा प्रतिक्रिया लिन खोज्दा मुख्यमन्त्री चेत नारायण आचार्य र आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीको मोबाइल अफ थियो भने सरकारका प्रवक्ता दिनेश पन्थीले फोन उठाएनन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]