
Msbg-2
Pbu
Gsbg-3
Usbl-7
Rksr-7
Jsbg-7
ksbl-7
Jsbr-3
Gsbr-6
Csbg-7


काठमाडौँ । शुक्रबार राजसंस्थाको पुनःस्थापनाको माग राख्दै भएको भनिएको आन्दोलनमा सहभागी समूहले सञ्चार गृहमाथि भएको तोडफोडप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालले शुक्रबार साँझ एक विज्ञप्तिमार्फत समाचार सङ्कलनका क्रममा एक सञ्चारकर्मीको मृत्यु भएको, विभिन्न सञ्चार गृहको भवनमा आगो लगाइएको, हुलहुज्जत गरेर भवनभित्र प्रवेश गर्न नपाएपछि ढुङ्गा हानिएको तथा सवारीसाधन तोडफोड गर्ने र सञ्चारकर्मीलाई आतङ्कित तुल्याउने कार्य भएकामा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
त्यस्तै आगो लगाएको भवनको समाचार सङ्कलनको क्रममा जलेर एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको छ । त्यसैगरी तीनकुनेस्थित अन्नपूर्ण मिडिया ग्रुुपको भवनमा तोडफोड र आगजनी गरी क्षति पुर्याइएको छ । कान्तिपुर टेलिभिजनको भवनमा जबरजस्ती प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले रोकेपछि ढुङ्गामुढा गरी समाचार कक्षसम्म आतङ्क सिर्जना गरिएको छ । हिमालयन टेलिभिजनको सवारीसाधन तोडफोड भएको जानकारी महासंघमा प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै जनतालाई सुसूचित गराउने र विचार निर्माणमा सघाउने प्रेस जस्तो भरपर्दो सञ्चार संस्था र सञ्चारकर्मीको ज्यानै जाने गरी यसप्रकारको हमला हुनु घोर आपत्तिजनक, निन्दनीय र भर्त्सनायोग्य भएको महासंघको ठहर छ ।
“शान्तिपूर्ण प्रदर्शन गर्ने संवैधानिक अधिकारको महासंघ सदैव सम्मान गर्दछ । तर, आन्दोलनको नाममा सञ्चारकर्मीको ज्यानै जाने, प्रेसलाई आतङ्कित र त्रसित बनाउने कार्य किमार्थ स्वीकार गर्दैन”, विज्ञप्तिमा भनिएको छ, “यस्ता हर्कतमा संलग्न जो कोही भएपनि तत्काल कानुनी कठघरामा उभ्याउन महासंघ सरकारसँग जोडदार माग गर्दछ ।”
त्यस्तै महासंघले क्षति पुर्याइएका सञ्चारमाध्यमलाई क्षतिपूर्ति दिन, सञ्चार गृह र सञ्चारकर्मीको सुरक्षामा गम्भीर हुन आग्रह गरेको छ । महासंघले लोकतन्त्र र प्रेसविरोधी यस्ता क्रियाकलाप नदोहोर्याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहने र यस प्रकारका हर्कत दोहोरिए त्यसविरुद्ध उत्रन बाध्य हुनेतर्फ सचेत गराएको छ ।
यसैबीच सञ्चारकर्मी रजकको जलेर निधन भएको खबरले महासंघ स्तब्ध भएको उल्लेख छ । महासंघले सो अमानवीय घटनाको गहिरो छानबिन गरी दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ । मृतक पत्रकार रकजप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ ।
यस्तै नेपाल प्रेस यूनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठन लगायत सञ्चार आवद्ध विभिन्न संघ संस्थाले पनि शुक्रबार भएको घटनाप्रति आपत्ति प्रकट गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । स्वतन्त्र प्रेसको सम्मान गर्न, निर्वाध समाचार सङ्कलन गर्न दिन र सञ्चार गृह र सञ्चारकर्मीको सुरक्षामा गम्भीर हुन सम्वद्ध सबैलाई आग्रह समेत गरेका छन् ।
