
Bs1
Pbu
Gsl


दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब अलमल नगरी मिसन ०८४ तिर लाग्नुपर्ने बताएका छन् । सोमबार लुम्बिनी प्रदेशको राजधानी दाङको घोराहीमा आयोजित जनसभालाई सम्बोधन गदै उनले मिसन ०८४ को अभियानलाई कसैले पनि रोक्न नसक्ने जिकिर गरेका हुन् ।
‘हामी अलमल नगरी मिसन २०८४ तर्फ लाग्नुपर्छ, तपाईँहरूको साथ चाहिन्छ, देश बदल्ने कामको अगुवाइ गर्ने जिम्मा मेरो हो, कसैले पनि यो अभियानलाई रोक्न सक्दैन,’ प्रधानमन्त्री ओलीले भने । साथै, उनले सरकारले ल्याएका अध्यादेशहरू संसद्बाट पारित गरेरै छाड्ने बताए । ‘पहिला मैले सुरुङ, पानीजहाज र रेलका कुरा गर्दा धेरैले गिज्याए, अहिले जनकपुरमा त रेल चलिरहेको छ, त्यो विस्तार हुँदै छ, अब नारायणी नदीबाट तपाईँहरू जलयात्रा सुरु गर्न सक्नुहुन्छ, त्यसलाई गंगासम्म लैजान सक्नुहुन्छ,’ ओलीले भने ।प्रधानमन्त्री ओलीले एमालेको नेतृत्वले मात्र देश विकास गर्न सक्ने बताउँदै महासचिव शंकर पोखरेललाई चुनाव जिताएर नपठाउँदा विकासको अभियान अघि बढाउन आफूलाई केही समस्या भएको बताए ।
त्यस्तै,पार्टीका महासचिव शंकर पोखरेलले पनि सोही कार्यक्रममा सम्बोधन गर्दै सरकारले जारी गरेका अध्यादेशहरू संसद्बाट पारित हुने बताए । अध्यादेश संसद् छल्न नभई जनतासँग प्रत्यक्ष जोडिएका काम छिटोछरितो गर्नकालागि ल्याइएको दाबी गरे । ‘अध्यादेश संसद छल्न होइन । संसदबाट लैजाँदा ढिला हुने भएकाले ल्याउनु परेको हो,’ महासचिव पोखरेलले बताए ।
