Sidha Patra मंगलबार, माघ २९, २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहितका व्यक्तिलाई थुनामै राख्नुपर्ने माग गर्दै उच्च अदालतमा निवेदन दर्ता भएको छ ।

त्यस्तै धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतको आदेश त्रुटिपूर्ण भएको दाबी गर्दै सरकारले त्यसविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएको हो । उच्च सरकारी वकिल कार्यालयका प्रमुख तथा सहन्यायाधिवक्ता शंकर खत्रीले उच्च अदालत पाटनमा निवेदन दर्ता गरिएको बताए । ‘जिल्ला अदालतको आदेश बदर गरी थुनामै राख्नुपर्ने माग गर्दै सोमबार अदालतमा निवेदन दर्ता भएको छ’, खत्रीले भने ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणका प्रतिवादी लामिछानेसहितका व्यक्तिलाई धरौटीमा छाड्नु गलत भएको दाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं उच्च सरकारी वकिल कार्यालय पुगेको थियो । एक साताअघि आएको निवेदन अध्ययन गरेर उच्च सरकारी वकिल कार्यालयले सोमबार निवेदन दर्ता गराएको हो । निवेदनमा धरौटीमा छुटेकाहरुलाई थुनामै राख्नुपर्ने माग गरिएको छ ।

त्यस्तै खत्रीका अनुसार स्वर्णलक्ष्मी सहकारी ठगीमा प्रतिवादी बनाएर धरौटीमा रिहा भएका चार जनाविरुद्ध निवेदन दर्ता भएको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने, नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी, स्वर्णलक्ष्मी सहकारीको लेखा समिति सदस्य सुनिता नेवा र सञ्चालक समिति सदस्य कमल लामा छन् ।

यस्तै उनीहरू सबैलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको आदेशपछि उनीहरू सबै धरौटी बुझाएर रिहा भएका थिए । लामिछानेलाई २ माघमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । स्वर्णलक्ष्मी सहकारी ठगीकै अर्का प्रतिवादी जोशीलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरपसाद पोखरेलको ७ माघको एकल इजलासले ५० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

त्यस्तै उनी पनि धरौटी बुझाएर रिहा भएका थिए । यसअघि लेखा समिति सदस्य नेवा र सञ्चालक समिति सदस्य लामा पनि क्रमशः चार लाख र तीन लाख धरौटीमा रिहा भएका थिए । २३ पुसमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको एकल इजलासले उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । यो सहकारी ठगी प्रकरणको अनुसन्धान जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको थियो । काठमाडौं प्रहरीको अनुसन्धान प्रतिवेदन अनुसार जिल्ला सरकारी वकिल कार्यालयले २१ पुसमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । ३९ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको थियो । १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ बिगो मागदाबी गरिएको थियो ।

यस्तै यता प्रहरीले मुद्दा चलाउन सिफारिस गरेका पाँच जनालाई भने सरकारी वकिल कार्यालयले उन्मुक्ति दिएको थियो । नेपाली कांग्रेसकी प्रतिनिधिसभाकी सांसद माया राईसहित सुजल श्रेष्ठ, मीरा बम्जन, यामकुमार नालबो र पुनमकुमार चालिसेलाई उन्मुक्ति दिएर मुद्दा दायर गरिएको थियो । यता थुनामै राख्नुपर्ने माग गरिएका मध्ये पूर्वडीआईजी जोशीलाई भने सोमबार जिल्ला अदालत रुपन्देहीले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ । अदालतको आदेशपछि उनी कागार चलान भएका छन् ।

त्यस्तै यता रवि भने स्वर्णलक्ष्मीको केशमा धरौटीबाट छुटेर साहारा चितवनको ठगी प्रकरणमा अदालतमा उपस्थित भएका थिए । चितवनमा पनि एक करोड रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका छन् । उनीविरुद्ध पर्साको सानोपाइला सहकारी ठगी प्रकरणमा मुद्दा दर्ता हुन बाँकी नै रहेको छ । अनुसन्धान अन्तिम चरणमा पुगेको भन्दै केही दिनमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]