काठमाडौं । बैतडीमा बलात्कारको आरोपमा एक स्वास्थ्य चौकीका प्रमुख पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको सिगास गाउँपालिका २ गाँजरी स्वास्थ्य चौकीका प्रमुख समेत रहेका स्थानीय ४१ वर्षीय जनकसिंह धामी रहेका छन् । ३१ वर्षीया युवतीले आफूमाथि जबर्जस्तीकरणी गरेको भन्दै जाहेरी दिएपछि धामीलाई पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । धामीले विभिन्न प्रलोभनमा पारी पटक–पटक जबरजस्तीकरणी गरेको पीडित युवतीको आरोप छ ।
त्यस्तै पीडित युवती अविवाहित र स्वास्थ्यकर्मी समेत रहेकी बुझिएको छ । पक्राउ पर्ने धामी विवाहित रहेका छन् । पीडितले दिएको जाहेरीका आधारमा धामीलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय, पाटनको हिरासतमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।