दाङ । गढवा उद्योग बाणिज्य संघले आन्तरीक राजश्व कार्यालयसंगको समन्वयमा यहि श्रावण ३ गतेदेखि ब्यवसायीहरुलाई कर बुझाउन घरदैलो सेवा प्रवाह गर्ने भएको छ ।
संघको हालै सम्पन्न बैठकले आफ्नो कार्यक्षेत्र भित्र रहेका ब्यवसायीहरुलाई कर बुझाउने सहजताका लागि घरदैलो सेवा प्रवाह गर्न थालेको अध्यक्ष ओंम प्रकाश बसेलले बताए । संघमा आवद्ध तथा दर्ता भएका ब्यवसायीहरुले घरदैलो शिविरमा आफ्नो कारोवार बमोजिमको आयकर तथा अन्तशुल्कः बुझाउृन सक्ने छन् ।
त्यस्तै आयकर वापत डेवान फाराम मार्फत् २ हजार पाँचसय र अन्तःशुल्कमा दर्ता गरि इजाजत पत्र लिएका ब्यवसायीहरुले आयकरका साथै सरकारले तोकेबमोजिमको ६ हजार रुपियाँ तिनुपर्ने संघले जनाएको छ । निर्धारित कार्यक्रम अनुसार साउन ३ गते बिहान ८ बजेदेखि गढवाको धानखोला, दिउँसो १२ बजेदेखि कालाकाटे र वेलुका ४.३० बजेदेखि पुतलीबजारमा शिविर संचालन गरिने संघले जनाएको छ ।
यसैगरी साउन ४ गते बिहान महदेवा, दिउँसो १२ बजेदेखि गोबरडिहा र ४ बजेपछि रामनगरमा शिविर संचालन गरिने भएको छ । साउन ५ गते संघको १० औं बार्षिकोत्सवको उपलक्ष्यमा गढवा स्थित सर्पदंश उपचार केन्द्रमा बृक्षारोपण गर्ने र बेलुका कार्यालयमा दिप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको संघले जनाएको छ । साउन ६ गते बिहान ८ बजेदेखि राजपुरको गंगदीमा दिउँसो १२ बजेदेखि जंग्रहवा चोंकमा तथा बेलुका ४ बजेदेखि भैसहवा चोंकमा शिविर सञ्चालन गरिने भएको छ ।
यसैगरी साउन ७ गते बिहान ८ बजेदेखि राजपुरको वेला चोंकमा तथा दिउँसो १२ बजेदेखि साझसम्म राजपुरको कठबेरुवा क्षेत्रमा घरदैलो सेवा प्रवाह गरिने भएको छ । साउन ८ गते बिहान ९ बजेदेखि संघको गढवा स्थित कार्यालयमा दिनभर शिविर सञ्चालन गरिने कार्यक्रम तय भैसकेको संघले जनाएको छ । बैठकले उद्योगी,ब्यवसायी,शिक्षक कर्मचारी लगायत सबैलाई खाता संचालनगरि बैंकीङ कारोवारमा सहजताकालागि नेपाल बैंकको शाखा कार्यालय गढवामा स्थापना गर्न नेपाल बैंक लि. लमहीमा मागपत्र बुझाउने निर्णय गरेको छ । यसैगरी बढ्दो अघोषित लोडसेडिङले उद्योगी ब्यवसायी तथा आम नागरिकहरुमा पर्न गएको समस्याका बिषयमा नेपाल बिद्याुत्त प्राधिकरण लमहीलाई ध्यानाकर्षण गराउने निर्णय समेत भएको संघका अध्यक्ष बसेलले जानकारी दिए ।