दाङ । लमही ट्राफिक प्रहरीले अत्याधिक गतिमा सवारी चलाउँदा हुन सक्ने दुर्घटना नियन्त्रण गर्न राडर गन (स्पीड जाँच गर्ने लेजर गन मेसिन) प्रयोग गर्दै कारबाही थालेको छ ।
दुर्घटनाहरु अधिकांश राजमार्ग सडक खण्डमा तीब्र गतिका कारण हुन थालेपछि दुर्घटना न्यूनिकरण गर्न चेकजाँचमा नयाँ प्रविधि प्रयोग गरिएको हो । ‘जिल्लाका राजमार्गहरुमा तीब्र गतिले सवारी दुर्घटना बढदै गईरहेकोमा त्यस प्रकारका सवारी दुर्घटना न्यूनिकरण गर्न यो अभियान सुरु गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए ।
पहलो दिन आज २१ वटा सवारीसाधन कारबाहीमा परेका छन । राजमार्गमा गुडेका ६० किलोमिटर प्रति घण्टाभन्दा बढी हाँक्ने सवारीलाई कारबाही गरिएको छ । दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा सहित अहिले महेन्द राजमार्ग सडक खन्डमा अभियान केन्द्रित राखिएको प्रमुख भुसालले भने । हामीले प्रयोगमा ल्याएको राडर गन विशेष किसिमको अत्याधुनिक छ । यसले परैबाट आइरहेका तीव्र गतिका सवारी साधनबारे तत्काल संकेत दिने र ३ सय मिटरमा आएपछि गति मापन गर्छ । त्यस्तो गाडी तीब्र गति छ भने सय मिटरको दुरीमा आएपछि नम्बर सहितको सवारीसाधनको फोटो खिचिने प्रमुख भुसालले बताए ।
त्यस्तै मेसिनकै सहायताले ओभर स्पीडका त्यस्ता सवारीसाधन रोकेर सम्झाई बुझाई गरी कारबाहीको दायरामा परेका छन । कुन गाडी कति गतिमा गुडेको छ त्यसले गनमा अंक देखाउँछ र तस्बिर पनि खिच्ने भएकोले तत्काल स-प्रमाणसहितको चिट दिई कारबाही गर्न पनि सहज भएको प्रमुख भुसालले बताए । राडर गनले सवारीको गति नापेर हेर्दा तीब्र गतिमा अधिकांश निजी कारहरु रहेका छन भने भाडाका बस,मोटरसाइकल र स्कुल बस पनि कारवाहीमा परेको प्रहरी प्रमुख भुसालले जानकारी दिए ।