भानु जोशी शनिबार, पौष ११, २०७७

दाङ । शनिबारदेखि लमहीमा सुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीतामा लुम्बिनी प्रदेश र नेपाल सशस्त्र प्रहरी बल(एपिएफ) विभागीय समुहले विजयी सुरुवात गरेका छन् । लुम्बिनी प्रदेशले पहिलो खेलमा प्रदेश नम्बर २ लाई ९ विकेटले हराउँदै उत्कृष्ट सुरुवात गरेको हो । दोस्रो खेलमा एपिएफले कर्णाली प्रदेशलाई २ सय ४ रनको फराकिलो अन्तरले पछाडी पार्दै विजय सुरुवात गरेको हो ।

जितका लागि ७८ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले १६.१ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । लुम्बिनीकी गीता गोसाई ४२ बलमा २ चौका सहित २३ रनमा अविजित रहिन । कप्तान नेरी थापा १३ बलमा २ चौका सहित १५ रनमा अविजित भइन । पहिलो विकेटका लागि गीता गोसाई र सरस्वती घर्ती मगरले १२ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाइन । सरस्वतीलाई कविता गौतमले २२ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाइन । उनले ४२ बलमा १ चौका प्रहार गरिन्। प्रदेश २ की मध्य गतिकी बलर कविता गौतमले १ विकेट लिइन । अन्यले विकेट लिन सकेनन् ।

त्यसअघि लमहीको देउखुरी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको प्रदेश नम्बर २ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७७ रन बनाएको थियो । प्रदेश २ का लागि ओपनर सना प्रविन र अनु चौधरीले सर्वाधिक २१–२१ रनको योगदान दिइन । स्पिनर गिता गोसाईको १३ औं ओभरको चौथो बलमा अघि सेरर सट खेल्नेक्रममा अनुराधा विकेट किपर नितुबाट स्टम्पिङ हुन पुगिन ।

एनले ४१ बलमा १ चौका प्रहार गर्नु भयो । १९ औँ ओभरको अन्तिम बलमा बिमला मगरलाई सुस्मिताले १० रनमा एलबिडब्लू आउट गरिन । उनले १४ बलमा १ चौका प्रहार गरिन्। लुम्बिनीकी सुस्मिता भुषालले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन । स्वस्तीका बजागाईंले ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिनुभयो । स्पिनर गिता गोसाईको नाममा १ विकेट लिइन । दिउँसो भएको खेलमा जितका लागि २ सय ३६ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली प्रदेश १४.१ ओभर खेल्दै ३१ रनमा अल आउट हुन पुग्यो । कर्णालीका कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कर्णालीका पाँच ब्याटर शून्यमा आउट भएका थिए । कर्णालीको तर्फबाट कप्तानी लक्ष्मी रिमालले सर्वाधिक ६ रन बनाइन । दीक्षा पुरी ५ रनमा अविजित रहिन । तीन ब्याटर सिंगलमा आउट भएका थिए ।

पहिलो ओभरको पाँचौ बलमा सोनु खड्काले ओपनर मोनिका रानालाई शून्यमा एलबिडब्लू आउट गरिन । । चौथो ओभरको अन्तिम बलमा रेखा रावलले अर्की ओपनर तिर्सना विश्वकर्मालाई २ रनमा एलबिडब्लू आउट गरिन । छैटौं ओभरको पहिलो बलमा राजमती ऐरीले अन्शु शाक्यलाई एक रनमा बोल्ड आउट गरिन । तीन बल पछि लक्ष्मी पुरी शून्यमा एलबिडब्लू आउट हुँदा कर्णाली ११–४ को अवस्थामा पुगेको थियो ।

त्यसपछिका ब्याटर पनि क्रिजमा समालिएर प्रर्दशन गर्न सकेनन् । नवौं ओभरको पहिलो बलमा आयुशा टन्डन शून्यमा रन आउट भइन । चार बल पछि कप्तान लक्ष्मी रिमाललाई करुण भण्डारीले ६ रनमा एलबिडब्लू आउट गर्दा कर्णाली ८.५ ओभरमा १७–६ को कमजोर अवस्थामा पुगेको थियो । लगत्तै अर्को बलमा सुजिता बोगटीलाई शून्यमा बोल्ड आउट गरिन । करुणाले अन्जु गुरुङलाई १ रनमा बोल्ड आउट गरिन । कर्णालीले १५ रन एक्स्ट्रा मार्फत पाएको थियो । एपिएफकी स्पिनर करुणा भण्डारीले ३.१ ओभरमा २ मेडन सहित २ रन खर्चेर ५ विकेट लिइन । राजमती ऐरीले २ ओभरमा ६ रन खर्चेर २ विकेट लिइन । रेखा रावल र सोनु खड्काले एक एक विकेट लिइन । त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो । एपिएफकी कप्तान सीता राना मगरले ५९ बलमा ८ चौका सर्वाधिक ६८ रनको योगदान दिनुभयो । सरिता मगर ३४ बलमा ६ चौका सहित ४४ रनमा अविजित रहनुभयो ।

एपिएफलाई ओपनर ज्योती पान्डे र सीता रानामगरले ८.३ ओभरमा ९७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाउनु भयो । स्पिनर निशा पराजुलीले अंशु शाक्यबाट क्याच गराउँदै पहिलो सफलता दिलाउनु भएको थियो । ज्योतीले ३० बलमा ३ चौका सहित ३२ रन जोडीन् । दोस्रो विकेटका लागि सीता र सरिताले ९९ रनको साझेदारी गर्नु भयो । सीतालाई १८ औं ओभरको चौथो बलमा अञ्जु गुरुङले बोल्ड आउट गरिन । ईन्दु बर्मा १२ बलमा ४ चौका सहित २२ रन जोड्दै क्याच आउट भइन । इन्दुलाई दीक्षा पुरीले कप्तान लक्ष्मी रिमालबाट अन्तिम ओभरको तेस्रो बलमा क्याच आउट गराइन । ममता चौधरी २ रनमा आउट भइन ।

कर्णालीको फिल्डिङ निकै कमजोर देखिएको थियो । कर्णाली महिला खेलाडीले एक्स्ट्रा ६७ रन खर्चेका थिए । ४१ वाइड र १८ नो बल फालेका थिए । बलिङ र फिल्डिङ दुबै कमजोर देखिएको थियो । कर्णालीकी दीक्षा पुरीले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिइन । निशा पराजुली र अन्जु गुरुङले पनि १–१ विकेट लिइन । कर्णालीले दोस्रो खेलमा आइतबार लुम्बिनीसँग खेल्ने छ । एपिएफले आइतबार दिउँदो प्रदेश २ विरुद्ध खेल्ने छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]