Sidha Patra बुधबार, चैत्र २१, २०८०

काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई नयाँ ढंगले अगाडि बढाउने तयारी गरेको छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ मा यो कार्यक्रमको बजेट बढाएर स्थानीय तहमार्फत खर्च गर्ने मन्त्रालयले जनाएको छ । चालु आव २०८०/८१ मा कार्यक्रम स्थगित गरेर छुट्याइएको बजेट जाजरकोट भूकम्पले क्षति पुर्‍याएका विद्यालयको पुनर्निर्माणमा खर्च गर्ने निर्णय पनि मन्त्रालयले गरेको छ ।

त्यस्तै चालु आर्थिक वर्षमा रकम कम भएको तर आवेदक बढी भएकाले विद्यालय छनोट हुन सकेको थिएन । विद्यालयमा बजेट पठाउन ढिला भइसकेकाले पठाइएको बजेट फ्रिज हुने जोखिम पनि उत्तिकै थियो । यहीँ कारण भूकम्पले क्षति पुगेका जाजरकोटका विद्यालय भवन पुनर्निमाण गर्न बजेट खर्च गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालले जानकारी दिए ।

यस्तै उनका अनुसार गत वर्ष छनोट भएका तर पैसा पठाउन नसकिएका ३१ विद्यालयलाई तोकिएको रकम पठाउने र बाँकी रकम जाजरकोटको भूकम्प प्रभावित विद्यालयलाई पठाउने निर्णय भएको हो ।
दाहालले जाजरकोटमा भूकम्पका कारण क्षति पुगेका विद्यालयको पुनर्निमाणको लागि स्रोत कम भएकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेट दिने निर्णय भएको बताए ।

‘जाजरकोटको लागि स्रोत कम थियो । यता बजेट कम र माग गर्ने विद्यालय धेरै थिए । यहीँ कारण चालु आवको कार्यक्रमलाई स्थगित गर्ने र बजेटलाई त्यता परिचालन गर्ने निर्णय भएको हो,’ प्रवक्ता दाहालले भने । चालु आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि १ अर्ब बजेट विनियोजन भएको छ । उक्त बजेटबाट ७४ विद्यालयलाई ४ कोठे भवन, ५ सय ९५ विद्यालयमा आईसीटी र १९ वटालाई प्राविधिक विद्यालय बनाउन बजेट प्रदान गर्ने सूचना जारी गरिएको थियो । तर विभिन्न शीर्षकमा बजेट माग गर्दै करिब चार हजार विद्यालयले आवेदन दिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयका अनुसार कार्यक्रमको लागि भएको आह्वानमा चार कोठे भवनको लागि १ हजार ७ सय ९०, आईसीटीको लागि १ हजार ७ सय १४ र नयाँ प्राविधिक विद्यालयको लागि १ सय ८५ विद्यालयले निवेदन दिएका थिए । धेरै विद्यालयले आवेदन दिएपछि मन्त्रालयले बजेट थप गर्ने प्रयास पनि गरेको थियो । प्रवक्ता दाहालका अनुसार मन्त्रालयको प्रयासबाट पनि बजेट बढाउन सम्भव भएन । धेरै आवेदन आएकाले सानो बजेटबाट विद्यालय छनोट गर्ने चुनौती पनि त्यति नै थियो । त्यसमाथि स्थानीय तहको मातहतमा रहेका विद्यालयलाई केन्द्रबाटै बजेट दिने र केन्द्रबाटै विद्यालय छनोट गर्ने निर्णयको विरोध हुँदै आएको थियो । राष्ट्रपति शैक्षिक सुधारका लागि विनियोजित रकम वितरणमा समेत प्रश्न उठ्दै आइरहेको छ ।

त्यसैले मन्त्रालयले आगामी वर्षमा राष्ट्रपति शैक्षिक सुधार अन्र्तगत विद्यालय छनोट गर्ने विषयमा पनि प्रभावकारी उपायबारे छलफल गरिरहेको छ । प्रवक्ता दाहालले भने ‘यहींबाट विद्यालय तोक्ने अथवा विद्यालय नतोकी पालिकामा पठाइदिने भन्ने छलफल गर्छौं । जसरी पठाए पनि आर्थिक वर्षको सुरूमै बजेट स्थानीय तहमा पठाउने गरी छलफल भइरहेको छ ।’ गत आर्थिक वर्ष २०७९/८० मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि करिब ९ अर्ब बजेट विनियोजन भएको थियो ।

यस्तै उक्त रकमबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको थियो । छानबिन गर्दा पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेल र अर्थमन्त्री जनार्दन शर्माले १ अर्ब रुपैयाँ बजेट आफ्नो निर्वाचन क्षेत्रमा लगेको खुलेपछि आयोगले मन्त्रालयलाई बजेट स्थानीय तहमै पठाउन निर्देशन दिएको थियो । यही कारण आगामी आव २०८१/८२ देखि कार्यक्रमलाई सुधार गरेर स्थानीय तहमार्फत बजेट पठाउने तयारी भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै सरकारले २०७६ सालदेखि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत विद्यालयको पूर्वाधार विकास, पुनर्संरचना, छात्रवृत्ति, शिक्षण सामग्री वितरण, प्रयोगशाला,खेल सामग्रीलगायत शैक्षिक गुणस्तर वृद्धिका कार्यमा लगानी गर्दै आएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]