बर्दिया । मुद्दा मिलाइदिन्छु भन्दै सेवाग्राहीसंग ३० हजार रुपैयाँ घुस मागेको आरोपमा नेपाल प्रहरीका एक जना प्रहरी अधिकारी मंगलबार कार्यालयबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा प्रहरी नायब निरीक्षक पवन साउद रहेका छन् । बढैयाताल गाउँपालिका वडा नम्बर ६ स्थित ईलाका प्रहरी कार्यालयमा कार्यरत साउदले लागूऔषध मुद्दा मिलाइदिने भन्दै घुस मागेका थिए ।
सोही सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्ज स्थित सम्पर्क कार्यालयबाट खटिएको टोलीले साउदलाई सेवाग्राहीसंग लिएको ३० हजार रुपैयाँ घुस सहित कार्यालयको मुद्दा शाखाबाट पक्राउ गरेको हो ।
त्यस्तै उनलाई अहिले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता भोला दाहालले जानकारी दिनु भयो ।