रुपन्देही । लामो समय देखि जारी लकडाउनका कारण समस्यामा परेका गरिव तथा विपन्न परिवारलाई लक्षित गरि रुपन्देहीको देवदहमा फुड वैंक संचालनमा ल्याईएको छ ।
सामाजिक अभियान्ताहरुले विभिन्न सामाजिक सस्थाहरुको सहकार्यमा “पुग्नेले दिने नपुग्नेले लिने” भन्ने सामाजिक भाव बोकेर खाद्य सामग्री संकलन तथा वितरण केन्द्र (फुड बैंक ) सञ्चालन गरिएको हो । लियो क्लब अफ लर्ड बुद्ध , लियो क्लब अफ देवदह , लायन्स क्लब अफ देवदह प्रोफेसनल युथ, लायन्स क्लब अफ देवदह , रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदह र सामाजिक सेवा समुहले संयुक्त रुपमा यो अभियान सुरु गरेका छन् । “पुग्नेले दिने नपुग्नेले लिने” भन्ने नारालाई आत्मसात गर्दै सञ्चालन भएको अभियानमा सबैले सक्दो सहयोग गर्न लियो क्लब अफ लर्ड बुद्धका अध्यक्ष लियो सन्दिप तिवारीले अनुरोध गर्नु भएको छ । उहाले यो अभियान देवदहका विभिन्न स्थानमा स्थानान्तरण हुने जानकारी दिनुभयो ।
खाद्यान्न बैंक अभियानको सुभारम्भ बुधबार खैरेनी चोकमा गरीएको थियो भने आज देवदह स्थित शित्तलनगरमा हुने लियो क्लब अफ देवदहकी अध्यक्ष लियो श्रद्धा कुवरले जानकारी दिनु भएको हो । उहाँले फुड बैंकमा दाल,चामल,आलु,तेल,नुन जस्ता अत्यावश्यक खाद्यान्न संकलन गरी वितरण गरिने बताउनु भयो ।
लायन्स क्लब अफ प्रोफेसनल युथका अध्यक्ष लायन दिपेश मल्लले टोल विकास संस्थासंग समन्वय गरि वास्तविक पिडित र मजदुरी गरि जीविकोपार्जन गर्ने श्रमजीवी वर्गलाई पहिचान गरी राहत वितरण गर्न लागिएको बताउनु भयो । उहाले यो अभियानमा करिव १ हजार परिवारलाई राहत वितरण गर्ने लक्ष्य रहेको बताउनुभयो । साथै सम्पुर्ण सहयोगदातालाई “विजय डेन्टल होम” खैरेनीद्वारा नि:शुल्क मुख तथा दात परिक्षणको व्यवस्था गरिएको छ ।