दाङ । देउखुरीको राजपुर गाउँपालिका अन्तरगत संचालित राजपुर विपद व्यवस्थापन समितिको बैठक शुक्रबार सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष तथा विपद व्यवस्थापन समितिका संयोजक शरद कुमार बुढाथोकीको अध्यक्षमा आज सम्पन्न भएको बैठकमा तीन वटा प्रस्तावहरुमा छलफल गरि निर्णय गरिएको छ ।
जसमा पहिलो निर्णयमा गाउँपालिका क्षेत्र भित्रको विभिन्न बस्तीमा जाने बाटोहरुमा अविरल वर्षातका कारण बाढी,पहिरो तथा कटानबाट अबरुद्ध भएका बाटोहरु सुचारु गर्नका लागि वडा स्तरीय विपद व्यवस्थापन समितिको सिफारिस र प्राविधिकको मुल्यांकनको आधारमा सम्पूर्ण बाटोहरु सफाइ गरेर तत्काल सुचारु गर्ने ।
त्यस्तै अविरल वर्षातका कारण बाढी,पहिरो,डुबान तथा कटानबाट आंशिक क्षति भएका व्यक्तिहरुको प्रहरीको प्रतिवेदन र वडाको सिफारिसको आधारमा राहत वितरण गरिने । यस्तै राहत वितरणको लागि राजपुर गाउँपालिकाद्वारा विभिन्न संघ संस्थाहरुसंग समन्वय र सहयोगको लागि अनुरोध गर्ने निर्णय भएको राजपुर गाउँपालिकाका सूचना प्रविधि अधिकृत तथा विपद व्यवस्थापन समितिका सदस्य सचिव शरद रेग्मीले जानकारी दिनु भयो ।
बैठकमा उपाध्यक्ष धनपती देवी यादव,प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पाण्डे,वडा नम्बर १ का वडा अध्यक्ष सुर्यप्रसाद चौधरी,वडा नम्बर २ का वडा अध्यक्ष ओमप्रकाश यादव,वडा नम्बर ३ का वडा अध्यक्ष रामप्रसाद अहिर,वडा नम्बर ४ का अध्यक्ष रामेश्वर यादव,वडा नम्बर ५ का वडा अध्यक्ष टंक बहादुर विष्ट,वडा नम्बर ६ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता श्याम बहादुर रोका,वडा नम्बर ७ का वडा अध्यक्ष पुष्कर ओली लगायत अन्य विपद व्यवस्थापन समितिका पदाधिकारीको उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।
त्यस्तै आज प्रत्येक हप्ताको शुक्रबार सरसफाइ कार्यक्रम अन्तरगत गाउँपालिका जनप्रतिनिधि र कर्मचारीको टिमले कार्यालय परिसर भित्र सरसफाइ कार्य सम्पन्न गरेको छ ।