दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले गएको जेठ १४ गते भारी वर्षाकोे कारण नालाको उचित निकास नहुँदा पानी उद्योग तथा व्यवसायमा पुगेको क्षतिलाई सहयोग रकम प्रदान गरेको छ । संघले सोमवार एक कार्यक्रमको आयोजना गरि सहयोग रकम प्रदान गरेको हो ।
संघले युनिक स्टेशनरी एण्ड फोटोकपी,खनाल इलेक्टोनिक्स, न्यु नेपाल मोर्टरपार्टश,वागेश्वरी किराना पसल,स्वर्गद्धारी डेकोरेशन सेन्टर,इत्सा तेल मिल,वुढाथोकी स्टोर्स र निधि ग्रिल उद्योगलाइ सहयोग रकम प्रदान गरेको हो । संघले ७ जनालाई क्षति पुगेको आधारमा सहयोग रकम प्रदान गरेको संघका अध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिए । क्षति पुगेका उद्योगी तथा व्यावसायीहरुलाई सानो भएपनि सहयोग पुगोर भनेर यस प्रकारको सहयोग प्रदान गरिएको उनले बताए । ‘हामीले उद्योगी तथा व्यवसायीहरुलाई घाउमा मलम लगाउने काम मात्र गरेका हौ’ उनले भने ।
यस्तै संघले उद्योगी तथा व्यावसायीहरुलाई अप्ठेयारो पर्दा सहयोग गर्नका लागि सुरक्षा कोष स्थापना गरिएको उनले बताए । पानी परेपछि डुवान हुने समस्याको समाधानका लागि संघले सम्वन्धीत निकायमा पहल गरि राखेको अध्यक्ष वुढाथोकीको भनाइ रहेको छ । क्षति पुगेका उद्योगी तथा व्यावसायीहरुको पुगेको क्षतिको आधारमा वर्गीकरण गरेर विवरण लिएको क्षति सङंकलन समितीका संयोजक तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नरेश कार्कीले जानकारी दिए ।