
ksbus
Amb
Sdc


दाङ । नेपाल विद्यार्थी संघले विभिन्न १४ बुँदे माग राख्दै नेपाल संस्कृत विश्वविद्यालयमा गरेको तालाबन्दी खुलेको छ। दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयमा लगाइएको ताला तीन महिनापछि बुधवार खुलेको हो।
साउन २२ गते आइतबार उच्च अदालत तुलसीपुरले विश्वविद्यालयमा लागेको ताला खोल्न अन्तरिम आदेश जारी गरेपछि आन्दोलनरत नेपाल विद्यार्थी संघ नेपाल संस्कृत विश्वविद्यालय संर्घष समितिले बुधबार ताला खोलेको हो। अदालतको आदेशको सम्मान गर्दै उपकुलपति कार्यालय, शिक्षाध्यक्ष कार्यालय, शिक्षाध्यक्ष कार्यालय मातहतमा रहेको शैक्षिक प्रशासन महाशाखा, कुलसचिव र बजेट महाशाखाको कार्यालयको ताला खोलिएको नेविसंघले जनाएको छ।
विश्वविद्यालयमा लागेको तालाबन्दीविरुद्ध अधिवक्ता कुलबहादुर भण्डारीले दायर गरेको रिटमाथि फैसला सुनाउँदै उच्च अदालतले आन्दोलनरत विद्यार्थी संगठनलाई ताला खोल्न अन्तरिम आदेश जारी गरेको थियो। त्यस्तै अनेरास्ववियुले पनि विश्वविद्यालयको शिक्षा आयोगको शाखा लगाएको ताला मंगलबार खोलेको छ । त्यसअघि नेविसंघले शिक्षा आयोगमा ताला लगाएको थियो ।
त्यस्तै ताला खोलिएसँगै विश्वविद्यालयको रोकिएको सम्पूर्ण गतिविधि सुरु भएको विश्वविद्यालयका रजिष्ट्रार माधव अधिकारीले बताए। आन्दोलनरत नेविसंघले १४ बुँदे माग राख्दै वैशाख १९ गते विश्वविद्यालय केन्द्रीय कार्यालयमा ताला लगाएको थियो।
विश्वविद्यालयमा दीक्षन्त तीन महिनाभित्र हुनुपर्ने, विश्वविद्यालयभित्र भएका आर्थिक अनियमितताको छानबिन गर्नुपर्ने, विद्यार्थीको छात्रवृत्ति दुई सय प्रतिशतसम्म वृद्धि गर्नुपर्ने, आंशिक शिक्षकहरुलाई व्यवस्थापन गर्नुपर्ने लगायतका माग राख्दै विश्वविद्यालयमा तालाबन्दी गरेको थियो।
