बाँके । सुर्खेतबाट नेपालगञ्ज आउँदै गरेका र बाँकेको चिसापानी चेकप्वाइन्टबाट भागेका व्यक्तिलाई पक्राउ गर्दा तीन किलो ८ सय ग्राम लागुऔषध अफिम बरामद भएको हो ।
बैजनाथ गाउँपालिका वडा नं. १ स्थित चिसापानी स्थित नेपाली सेनाको चेकप्वाइन्टमा जाँच गर्ने क्रममा सुर्खेतबाट आउँदै गरेका जाजरकोटको नलगाड नगरपालिका वडा नं. ३ का २५ वर्षीय गोपाल रोकायले बोकेको झोलामा अफिम भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी ऐनबहादुर मल्लले जानकारी दिए ।
‘नेपाली सेनाको चेकपोष्टमा जाँच गर्ने क्रममा रोकाय चेकप्वाइन्टबाट जंगलतर्फ भागेका थिए’डिएसपी मल्लले भने, ‘लगत्तै जंगलमा रहेको सेना, बाँके राष्टिय निकुञ्ज र इलाका प्रहरी कार्यालय चिसापानीको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।’
पक्राउपछि रोकायले दिएको बयानका आधारमा प्रहरीले कोहलपुरबाट नगलगाड नगरपालिका३ कै २५ वर्षीय लेखराज बिष्टलाई पक्राउ गरेको हो । सुर्खेतबाट आउँदा दुबै जनासँगै आएको भए पनि चिसापानीमा जाँच अघि नै रोकाय भागेका थिए भने बिष्ट कोहलपुर पुगेका थिए ।