दाङ । जिल्लामा थोरै वडालाई बालमैत्री घोषणा गरिएको छ । बालमैत्री घोषणा गर्नका लागि त्यस वडा वा पालिकामा बालश्रम सुन्यमा झरेको हुनुपर्छ । तर दाङ जिल्लाका पालिकाहरुमा बालश्रम रहँदा रहँदै बालमैत्री घोषणाको हतारो गरिएको छ ।
कानुन अनुसार उमेर नपुगेका बालवालिकालाई श्रममा लगाउन पाइदैन् । तर अहिलेपनि घरेलु कामदारको रुपमा होस् अथवा होटेल कारखानामा बालवालिकाहरुले काम गरेको देखिन्छ । बालवालिकाहरुले काम गरिरहेको देख्दा देख्दै बालमैत्री घोषणाको हतारोलाई सरोकारवालाहरुले चिन्ताको बिषयका रुपमा लिएका छन् ।
बजारमा मात्रै होइन ग्रामिण क्षेत्रमा पनि बालवालिकाहरुले काम गरिरहेको देख्न सकिन्छ । बजार क्षेत्रमा खासगरी होटेल तथा रेष्टुरेन्टहरुमा बालवालिकाहरु काममा रहेकमा छन् । यस बाहेक विभिन्न उद्योगहरु, सवारीका साधनहरुमा पनि बालश्रमिकको प्रयोग भइरहेको छ । जिल्लामा रहेका करिव चार दर्जन इट्टा उद्योगहरुमा बालश्रमिकको प्रयोग भइरहेको छ ।
जिल्लामा मुख्य शहरहरुमा बालश्रम मुक्त क्षेत्र बनाउने अभियान चलेका छन् । केही समय अघि विभिन्न गैर सरकारी संस्थाले बालश्रम मुक्तको अभियान चलाएका थिए । विभिन्न घर, पसल तथा होटलमा पुरेर बालवालिकालाई श्रमबाट निकालेर घरमा वा आफन्तकोमा पुनःस्थापना गर्ने अभियान चलेको थियो । हिजो आज यस्ता कुनै अभियान चलेका छैनन बरु बालमैत्री घोषणाको हतारो गरिएको छ ।
घोराही उपमहानगरपालिकाका १९ वटा वडामध्य तीनवटा वडाहरु गाउँ विकास समिति हुँदा नै बालमैत्री र महिला मैत्री घोषणा भएका थिए । साविकको धर्ना र सौडियार गाविसको संयुक्त घोषणा कार्यक्रम सौडियार गाविसको दलजितपुर विद्यालयमा गरिएको थियो । घोराही उपमहानगरपालिका भएपछि हालसम्म कुनै पनि वडालाई बालश्रममुक्त घोषणा गरिएको छैन । वडाहरुलाई बालश्रम मुक्त घोषणा नगरिकनै उपमहानगरपालिकालाई बालमैत्री घोषणा गर्न थालिएको कुराले भने शंका उव्जाएको छ । बालवालिकाको उचित व्यवस्थापन नगरिकनै हतारमा यस्तो घोषणा गर्न थालिएको चर्चा चल्न थालेको छ ।